चरिकोट । प्रदेश नम्बर ३  दोलखाका प्रदेश सांसद् विशाल खड्काले भेडपु गाउँका जनता वर्षौँदेखि सुकुम्बासी हुँदा चासो नराख्ने गुठीले कालिञ्चोकको जमिनमा अनावश्यक चसो राखेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
शनिबार  सदरमुकाम चरिकोटमा बसेको उच्चस्तरीय छलफलका क्रममा उहाँले कालिञ्चोक क्षेत्रको जमिनको स्वामित्वको बारेमा गुठी संस्थानले अनावश्यक बखेडा निकालेर विवाद बढाएको भन्नुभयो । उहाँले जग्गाको स्वामित्वको विषय कानुनी भएकोले गुठी र संरक्षण क्षेत्रलाई अदालत जान आग्रह गर्नुभयो । ‘तर जग्गाको स्वामित्वको विवादले व्यवसायीलाई मर्का पार्नु हुँदैन, केबलकार सञ्चालनमा बाधा गर्नुहुँदैन ।’ उहाँले भन्नुभयो,  जग्गा विवाद कानुनी विषय भए पनि कालिञ्चोकको संरचनाको विषय आन्तरिक व्यवस्थापनको विषय भएको उहाँले बताउनुभयो ।
अर्का प्रदेश सांसद् पशुपति चौलागाईँले कालिञ्चोकको जग्गा विवादको विषयसँगै जिल्लाका सबै ठाउँको त्यस्ता प्रकृतिका जग्गाहरुको व्यवस्थापनको पहल गर्नुपर्ने बताउनुभयो । केबलकारको विवादको प्रसङ्गमा उहाँले लगानीकर्ताहरुलाई लगानीको वातावरण दिनुपर्ने बताउनुभयो । उहाँले लगानीकर्तालाई दोलखामा लगानी गरेर कर तिर्न समेत आग्रह गर्नुभयो ।
संघीय सांसद् पार्वत गुरुङले जिल्लाभरि यसरी भएका अतिक्रमण रोक्ने गरी लाग्नुपर्ने बताउनुभय‍ो । उहाँले त्यसका लागि अध्ययन टोली बनाउन सुझाउनुभयो।
त्यसैगरी जिल्ला गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षतामा भएको छलफल कार्यक्रमले कालिञ्चोक क्षेत्रमा नयाँ संरचना निर्माण गर्न रोक लगाउने निर्णय गरेको छ ।
उच्चस्तरीय छलफलले कालिञ्चोक क्षेत्रमा अनियन्त्रित रुपमा बनिरहेको संरचनाले कालिञ्चोक क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको उल्लेख गर्दै नयाँ संरचना निर्माणमा रोक लगाउने निर्णय गरेको हो । छलफलमा संघीय सांसद्, प्रदेश सांसद्, जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकायका प्रतिनिधिहरु कालिञ्चोकको कुरी तथा घ्याङडाँडा क्षेत्र अव्यवस्थित रुपमा भएको निर्माण रोक्नुपर्ने धारणा राखेका थिए ।
कालिञ्चोक क्षेत्रमा अव्यवस्थित र अनियमित रुपमा संरचना निर्माण तीव्र भएका बेला प्रमुख जिल्ला अधिकारीको पहलमा छलफल राखिएको हो ।छलफलले नयाँ संरचना निर्माणमा रोक लगाउनुका साथै बनिसकेका संरचनाहरुलाई आन्तरिक व्यवस्थापन गर्ने समेत निर्णय गरेको छ । आधा बनेका संरचना भने सम्पन्न गर्न दिने सहमती भएको छ ।
हाल सो क्षेत्रमा कालिञ्चोक दर्शन प्रालिले केबलकार निर्माण गरी सञ्चालनमा ल्याएकोमा त्यसलाई समेत आवश्यक सहयोग सहित व्यवस्थापन गर्ने सहमती गरिएको छ ।
केबलकारले तिर्नुपर्ने भूबहाल कर कस्ले उठाउने भन्ने विषयमा विवाद भएपछि हाललाई जिल्ला गुठी व्यवस्थापन समितिको खातामा जम्मा गर्ने सहमती समेत भएको छ। कालिञ्चोक दर्शन प्रालिले गुठी संस्थानबाट अनुमती लिई केबलकार निर्माण गरेपछि स्वामित्वको विवाद हुँदैआएको छ।

फेसबुक मार्फत प्रतिक्रिया दिनुहोस् ।

प्रतिक्रिया दिनुहोस् ।

Please enter your comment!
Please enter your name here