गृहमन्त्री लामिछानेद्वारा ७७ जिल्लाका सिडिओलाई निर्देशन, "गुन्डा र तस्कर देखिनु भएन"
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गुन्डागर्दी र तस्करीलाई ठोक्न आफ्नो आदेश कुर्नुनपर्ने बताएका छन्।
७७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरीका जिल्ला इन्चार्जहरूलाई बिहिवार साँझ भर्चुअल संबोधन गर्दै उनले सो कुरा बताएका हुँन।
गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री लामिछानेले ‘९० दिनमा कायापलट’ गर्न निर्देशन दिएको उनको सचिवालयले जानाएको छ।
कम्तीमा ३ महिनामा कायापलट हुनुपर्ने उल्लेख गर्दै लामिछानेले भने,‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन ।’
गुन्डागर्दी,प्राकृति स्रोतको दोहन, राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने लामिछानेले बताए । विमानस्थलमा खादा र माला लिएर नआउनुस् निर्देशन दिँदै लामिछानेले भनेका छन्,‘राम्रो काम गर्नेलाई खोज्न म आफैँ आउँछु ट्याक्सी लिएर ।’
त्यसैगरी किसानका समस्यालाई प्राथमिकता दिनु भन्दै उनले भने 'साहुमहाजनले गरिबलाई नतर्साऊन्। पीडितको पक्षमा उभिनुस्। पीडितलाई थप पीडा दिने काम नगर्नुस्। किसानका समस्यालाई प्राथमिकता दिनुहोस्। अवैध आयात नियन्त्रण गर्नुहोस्। नेपाली उत्पादनले बजार नपाउने, अवैध आयात भइरहने क्रम रोकिनै पर्छ,'
गृहमन्त्रीले निर्देशन दिँदै भनेको उनको सचिवालयले जानकारी दिएको छ।
निर्देशनका क्रममा गृह मन्त्रालयले राम्ररी काम गर्न सक्यो भने नागरिकले सरकार छ भन्ने अनुभूति गर्ने उनले बताएका थिए। तर देशमा मान्छे नचिन्दा कुनै काम हुँदैन भन्ने भाष्य निर्माण भएको उनले बताएका थिए।
'हामीले सत्यसँग पनि डगमगाउने समाज बनाएका छौं। यस्तो समाज बस्न लायक हुँदैन। सहज रूपमा न्याय र सुरक्षा पाइँदैन भने मान्छे निराश हुन्छ। अहिलेको अवस्था त्यही हो। यो अवस्था चिर्ने दायित्व गृह प्रशासनको हो,' उनले निर्देशन दिँदै भने।