सुरक्षा अधिकारी र सरकारी अड्डाका हाकिमहरुको चाकडी बन्द गरौं : पत्रकार खतिवडा

१६ चैत २०८०, शुक्रवार राम्रो पोष्ट
राम्रो पोष्ट
१६ चैत २०८०, शुक्रवार

दोलखा। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रमेश खतिवडाले सरकारी अड्डाका हाकिमहरुको चाकडी बन्द गर्न आग्रह गरेका छन्। केन्द्रिय सदस्य खतिवडाले जिल्लामा सरुवा भएर आउने जाने सुरक्षा अधिकारी, कार्यालय प्रमुखलाई ताँती लागेर खादा माला लगाउन जाने काम बन्द गर्न आग्रह गरेका हुन्। यस्ता कामले जिल्लामा वेथिति निम्त्याएको भन्दै सो कुरा आजैबाट बन्द गर्न र हस्ताक्षर बिनै संघ संस्थाका नाम जोडेर अभिनन्दन पत्र दिने काम समेत नगर्न नगराउन अनुरोध गरेका छन्।
जिल्लाबाट हालै सरुवा भएका डिएसपी दिपक खड्का र सुन तस्करी जीवन चलाउनेसंग २६ पटक फोन सम्पर्कमा रहेको भन्ने समाचार सार्वजनिक भएसंगै केन्द्रिय सदस्य खतिवडाले आफ्नो फेसबुकमार्फत सबैलाइ अनुरो गरेका छन्। दोलखा जिल्लामा संगठीत गुन्डागर्दी र अपराध निस्तेज पारेका केही औलामा गन्न सकिने सुरक्षा अधिकारीलाई सरुवा हुदा जिल्लाबासीले सार्वजनिक रुपमा विदाई गरेको स्मरण गर्दै पत्रकार खतिवडाले पछिल्लो समय सो कार्य दोलखामा चाकडीपूर्ण ट्रेण्डका रुपमा हावी हुदै गएको बताएका छन्। ‘यो अन्त काहीं पनि हुन्न’ उनले भने, ‘यस्ता अभियानमा अबका दिनमा म आफू कहिल्यै सहभागी नहुने घोषणा गर्दछु । हिजो कहीँ कतै अन्जानमा जोडिएको रहेछु भने आत्माआलोचना गर्छु ।’
पत्रकार खतिवाडामा फेसबुकमा लेखेको जस्ताको त्यस्तैः
सरकारी अड्डाका हाकिमहरु र सुरक्षा अधिकारीहरुको सरुवा र आवतजावत नियमित प्रक्रिया हो । जनताको मन जित्ने गरि राम्रो काम गर्नेलाई त्यहाँको समाजले सम्झिनु र चर्चा गर्नु पनि राम्रै हो । दोलखा जिल्लामा संगठीत गुन्डागर्दी र अपराध निस्तेज पारेका केही औलामा गन्न सकिने सुरक्षा अधिकारीलाईउनिहरु सरुवा हुदा जिल्लाबासीले सार्वजनिक रुपमा विदाई गरेकै हुन।तर पछिल्लो समय खासगरी दोलखामा यो चाकडीपूर्ण ट्रेण्ड का रुपमा हावी हुदै जान थाल्यो। जुन अन्त काहीं पनि हुन्न ।
यस्ता अभियानमा अबका दिनमा म आफू कहिल्यै सहभागी नहुने घोषणा गर्दछु । हिजो कहीँ कतै अन्जानमा जोडिएको रहेछु भने आत्माआलोचना गर्छु । साथै जिल्लामा सरुवा भएर आउने जाने सुरक्षा अधिकारी वा कार्यालय प्रमुखलाई ताँती लागेर खादा माला लगाउन जाने र हस्ताक्षर बिनै संघ संस्थाका नाम जोडेर अभिनन्दन पत्र दिने काम आजैबाट बन्द गर्न अपिल गर्दछु । उनिहरु कार्यक्षेत्रमा रहुञ्जेल राम्रो काममा मुक्तकण्ठले प्रशंसा अनि गल्ती गर्दा खुलेर आलोचना गर्ने पद्धतिको विकास गरौं ।
अनि नयाँ आउँदै गरेका हाकिम सापहरु स्वागतका नाममा लाईन लगाएर खादा माला लाउने काम बन्द गर्नुस । तुरुन्त आफ्नो नियमित कर्ममा लाग्नुस । तपाईंका काम, तपाईंले सार्वजनिक रुपमा गर्ने सरसंगत उठबस जस्ता क्रियाकलाप यहाँलाई खादा लगाउनेहरुले हैन जनताले नियालिरहेका हुन्छन्।