लिग चरणका खेल सम्पन्न, ८ टिम क्वाटरफाइनमा प्रवेश
दोलखा। सर्वाधिक पुरस्कार राशिको ‘प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रित बहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’मा ८ टिम क्वाटरफाइनलमा प्रवेश गरेको छ।
१४ टिम सहभागी प्रतियोगिताको लिग चरणका खेलहरु सम्पन्न भएसंगै ८ टिमले क्वाटरफाइनल यात्रा तय गरेको हो।
दोलखा सदरमुकाम चरिकोट स्थित भीमेश्वर रङ्गशालामा जारी प्रतियोगितामा समध्ये मन्थली नगरपालिका, बागमती गाउँपालिका, विगु गाउँपालिका, जिरी नगरपालिका, लिखु तामाकोशी गाउँपालिका, मेलम्ची नगरपालिका, कमलामाइ नगरपालिका र गौरीशङ्कर गाउँपालिकाले क्वार्टर फाइनलको यात्रा तय गरेका छन् ।
प्रतियोगिताको क्वार्टर फाइनल खेलहरु बिहिबार विहानबाट सुरु हुने आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर कुमार अधिकारीले जानकारी दिए । क्वार्टर फाइनलको पहिलो खेल मन्थली नगरपालिका र बागमती गाउँपालिका बीच हुनेछ ।
सहिद सप्ताहको अवसर पारेर सहिद रितबहादुर खड्काको स्मृति र कृतित्वलाई कायम राख्दै दोलखाको पर्यटन प्रबर्धनमा समेत सहयोग पुर्याउने उद्देश्यले आयोजित प्रतियोगिता शुक्रबारसम्म चल्नेछ ।
दोलखामा अहिलेसम्म आयोजित भलिबल प्रतियोगिता मध्ये सबैभन्दा धेरै पुरस्कार राशि रहेको यो प्रतियोगिताको बिजेता टोलीले२ लाख ५१ हजार र उपबिजेताले १ लाख ५१ हजार नगद पुरस्कार पाउनेछन् त्यसैगरी तेस्रो तथा सान्त्वना स्थान हासिल गर्नेले ५१ र २१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सोमबारदेखि सुरु भएको थियो ।