ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा उपमेयर्स फोरम गठन
चरिकोट । ईश्वरी बस्नेतको संयोजकत्वमा रामेछापमा स्थानीय तहका उपप्रमुख तथा प्रमुखहरुको उपमेयर्स फोरम गठन गरिएको छ ।
सोमबार रामेछाप मन्थली नगरपालिकामा सम्पन्न न्यायिक समितीको अन्तरपालिकास्तरीय बैठकले ८ सदस्यीय फोरम गठन गरेको हो ।
फोरममा रामेछाप नगरपालिकाका उपमेयर बालकुमारी थापा कार्की सहसंयोजक रहेका छन् भने अन्य ६ पालिकाका उपाध्यक्षहरु सदस्य रहेका छन्।
स्थानीय तहमा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्ने मुख्य उद्देश्य राखेर उपप्रमुख तथा उपाध्यक्षहरुको फोरम गठन गरेको द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धबप्रसाद अधिकारीले बताए।
संयोजक अधिकारीका अनुसार पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितिको भूमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग पुुग्ने छ ।
‘न्यायिक सम्पादन लगायतका बिषयगत समितिका काममा सहज हुने नवगठित फोरमका संयोजक ईश्वरी बस्नेतले बताइन् ।
रामेछाप नगरपालिकाका उपमेयर एंवम् फोरमका सहसंयोजक बालकुमारी थापाले उपमेयर्स फोरमले आफ्ना क्षेत्राधिकारमा संगठित रुपमा काम गर्न सहज हुने बताइन।
स्थानीय तहमा छलफल गर्नुपर्ने र स्पष्ट हुनु पर्ने सवाल धेरै भएकाले विषय एकरूपता र समाधान खोज्नका निम्ति फोरम सहयोगी बन्ने विश्व गरिएको छ।
कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायिक समिति सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीका बारेमा प्रस्तुति गरेका थिए। उनले सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायिक समितिलाई प्रक्रियागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न सहयोग पुग्ने बताए ।