नेपाली पत्रकारिताः समाजको आक्रोश र भरोसाको संकट

१ असोज २०८२, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
१ असोज २०८२, बुधवार

कैलाश तामाङ, पत्रकार त्यो व्यक्ति हो जसले सूचना तथा जानकारी सङ्कलन गर्ने, समाचारयोग्य रूपमा प्रशोधन गर्ने र पत्रिका, अडियो, भिडियो वा अनलाइन पोर्टलमार्फत सार्वजनिक गर्छ। यही परिभाषा हालसम्म हामीले बुझ्दै आएका थियौं।

तर हिजोआज फेसबुकर्मी, युट्युबकर्मी र टिकटककर्मी ‘हाईहाई’ भइरहेका छन्। उनीहरूले आकर्षक पारिश्रमिक र सम्मान पाउँदै गर्दा गाउँ–सहरका मानिसहरू सामाजिक सञ्जालको पछि कुदिरहेका देखिन्छन्।

यसको मुख्य कारण नेपालको पत्रकारिता विगत केही दशकयता राजनीतिक दल र निकायहरूको प्रभावमा पर्नु हो। कांग्रेस, एमाले, माओवादी जस्ता ठूला दलसँग सम्बन्धित प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र पत्रकार महासंघका पदाधिकारीहरू प्रायः दलका एजेन्डा अनुसार समाचार प्रस्तुत गर्छन्।

२०६२/०६३ को आन्दोलनपछि यी दलका नेता सरकारमा पुगेपछि देशमा भ्रष्टाचार, असमानता र अनियमितता बढेको स्पष्ट छ। तर दलनिकट पत्रकारिता बढ्दै गएपछि समाजको नजरमा पत्रकारिता निष्पक्ष र स्वतन्त्र नभएको अनुभूति बढेको पक्कै हो।

यसै कारण गत चैत १५ गते शुक्रबारको आन्दोलनमा पत्रकारिता समाजको आक्रोशको केन्द्रबिन्दु बन्यो। राजावादी प्रदर्शनको ‘कभर’ गर्न फिल्डमा खटिएका पत्रकार सुरेश रजत अततायी प्रदर्शनका सिकार बने। केही पत्रिकामा तोडफोड र आगजनीको घटनाले जनताको निराशा र गुनासो प्रकट गर्‍यो।

सामाजिक सञ्जाल, युट्युब र टिकटक जस्ता डिजिटल प्लेटफर्ममा स्वतन्त्र व्यक्तिहरूले समाचार प्रसारण गर्न थालेपछि पारम्परिक दलनिकट सञ्चार माध्यमहरू अझ बढी आलोचनाको लक्ष्य बनेका छन्। भदौ २३ र २४ को जेन्जी आन्दोलनमा पनि पत्रकार र सञ्चार गृह आन्दोलनकारीको निशानामा पर्यो।

नेपालमा पत्रकार महासंघ पूर्ण स्वतन्त्र नभएर राजनीतिक दलहरूको प्रभावमा रहेको नेपाली समाजको बुझाई छ। यसले पत्रकारिताको निष्पक्षता र समाजमा भरोसा घटाएको छ । पत्रकार तथा सञ्चार गृहमाथिको आक्रमणले पत्रकार प्रतिको आम धारणा पूर्ण परिवर्तन भइसकेको अनुभूति हुन्छ ।

दुःख–पीडामा साथ दिने र हक–अधिकारको पक्षमा उभिने भनिएको नेपाल पत्रकार महासंघ राजनीतिक भर्तीकै केन्द्र जस्तो देखिन थालेको छ। पदाधिकारी छान्ने प्रक्रियामा हुने द्वन्द र खिचातानी राजनीतिक दलको चुनावभन्दा कम छैन। हाल नेपाल पत्रकार महासंघ र त्यसका भातृ संगठनका नेताहरूले महासंघ दुषित बनाएका छन्। त्यसैले आम जनताको विश्वास घटेको छ र स्वास्थ्यका लागि हानिकारक ठानेर मन परिवर्तन भएको छ।

यसै कारण युट्युब, फेसबुक र टिकटकका ‘भाइरल पत्रकार’ प्रति मनपर्दा बढिरहेको छ। धेरैजसो जनताले पारम्परिक सञ्चार माध्यमको सट्टा डिजिटल प्लेटफर्ममा विश्वास गर्न थालेका छन्।

सारांशमा, नेपालको पत्रकारिता मात्र दलको प्रभावमा सीमित नभएर समाजको आलोचना र आक्रोशको सामना गर्न बाध्य भएको छ। पत्रकारिता आफूलाई जनताको पक्षमा राख्न नसक्दा समाजले आफैंले त्यसलाई ‘धपाउन’ खोजिरहेको छ। यही अवस्था सुधार्न पत्रकारिताले दल र राजनीतिक दबाबबाट मुक्त भएर निष्पक्ष र विश्वसनीय भूमिका निर्वाह गर्नु अपरिहार्य छ।

.