जिरीबाट पार्वत गुरुङको घोषणाः “दोलखाको मास्टर प्लान एमालेले बनायो, बाँकी विकास पनि हामी नै पूरा गर्छौं”
राम्रो पोष्ट
१ फागुन २०८२, शुक्रवार
दोलखा — प्रतिनिधि सभा सदस्य उम्मेदवार पार्वत गुरुङ ले दोलखाको समग्र विकासमा नेकपा एमालेको ऐतिहासिक योगदान रहेको दाबी गरेका छन्।
शुक्रबार जिरीमा आयोजित चुनावी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दोलखाको विकास यात्रामा एमालेले खेलेको भूमिकालाई स्मरण गर्दै बाँकी रहेका कामसमेत एमालेले नै पूरा गर्ने घोषणा गरे।
उनले भने, “दोलखा ३५ वर्षमा जुन स्थानमा आइपुगेको छ, त्यसमा एमालेको मुख्य योगदान छ। त्यस योगदानमा मेरो पनि सहभागिता रहेको छ।” बाल्यकालदेखि नै पार्टी गतिविधिमा संलग्न रहँदै आएको उल्लेख गर्दै गुरुङले जिल्ला विकास समितिको उपसदस्य, सदस्य हुँदै सांसदसम्मको जिम्मेवारी सम्हालेको अनुभव सुनाए।
जिरीमै बनेको थियो दोलखाको ‘मास्टर प्लान’
गुरुङका अनुसार दोलखाको विकासका लागि बनाइएको गुरुयोजना (मास्टर प्लान) जिरीमै तयार गरिएको थियो। “जिल्ला विकास समितिको टोली एक हप्ता जिरीमा बसेर लालकुमार के.सी.को नेतृत्वमा दोलखाको मास्टर प्लान बनाएको थियो,” उनले भने, “त्यो ऐतिहासिक भूमि जिरी हो, त्यसैले हामी जिरीलाई अभिवादन गर्छौं।”
उनले उक्त गुरुयोजनाको आधारमा नै आज दोलखामा विभिन्न पूर्वाधार विकास सम्भव भएको दाबी गर्दै त्यसप्रति गर्व व्यक्त गरे।
सडक नामकरण र बजेटमा एमालेको भूमिका
भेलामा गुरुङले विभिन्न सडक आयोजनाको नामकरण र बजेट व्यवस्थापनमा एमालेकै पहल रहेको दाबी गरे। उनले खावा–खोल्मे सडक, लरेमाने–चिपचिपे सडक, जिरी–सिक्री, हावा–च्यामा–किर्ने वैकल्पिक सडक, जिरी–सेरा–काप्ती–ढोर्ले–लामाबगर सडकलगायत योजनाको नामकरण र बजेट व्यवस्थापन एमाले नेतृत्वकै पालामा भएको बताए।
त्यस्तै, जिरी–श्यामा–माली सडक मात्र नभई एभरेष्ट बेसक्याम्पसम्म जोड्ने सडक अवधारणा पनि एमालेकै पहलमा अघि बढाइएको उनको भनाइ थियो। शैलुङ–चेर्दुङ–सुरी–शङ्खु–मार्बु–चोरोपा सडक तथा कुम्पा–लोसा हुँदै कोयङ गल्छीडाँडा जोड्ने पाथीभरा सडक अवधारणासमेत एमालेले ल्याएको उनले दाबी गरे।
“अबको विकासको जिम्मा पनि एमालेले लिन्छ”
गुरुङले अब बाँकी रहेको विकास कार्य पूरा गर्ने जिम्मा पनि एमालेले नै लिने बताए। “बाँकी जे गर्न बाँकी छ, त्यो एमालेले गर्नेछ,” उनले भने, “म सूर्य ध्वजाबाहक उम्मेदवारको रूपमा यहाँ घोषणा गर्न चाहन्छु—दोलखाको समृद्धि यात्रालाई निरन्तरता दिन एमालेको नेतृत्व आवश्यक छ।”
भेलामा सहभागी कार्यकर्ताहरूलाई उनले घरदैलो अभियानलाई तीव्र बनाउन निर्देशन दिँदै दोलखाको विकास र स्थायित्वका लागि एमालेप्रति विश्वास गर्न आग्रह गरे।

राम्रो पोष्ट