October 3, 2026

भर्खरै

राजदूत सिफारिस भएका जीज्ञानको पक्षमा केशब अधिकारीको स्पष्ट धारणा : ‘खुट्टा तान्ने होइन, साथ दिऔँ’

राम्रो पोष्ट १५ असोज २०८३, बिहिवार
राजदूत सिफारिस भएका जीज्ञानको पक्षमा केशब अधिकारीको स्पष्ट धारणा : ‘खुट्टा तान्ने होइन, साथ दिऔँ’

टोकियो । जापानका लागि नेपाली राजदूतमा सिफारिस भएका जीज्ञान कुमार थापाको जापानी स्थायी बसोबास अनुमति (पीआर) सम्बन्धी विषयलाई लिएर सामाजिक सञ्जाल तथा अनलाइन सञ्चारमाध्यममा बहस भइरहेको छ। अनलाइन सञ्चारमाध्यमदेखि थापा विपक्षका केही मानिसहरू हात धोएर पछि लागिरहेको अवस्थामा जापानका व्यवसायी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शुभचिन्तक केशब अधिकारीले थापाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
अधिकारीले आफ्नो फेसबुकमार्फत जापानमा दुई दशकभन्दा बढी समय बिताएर नेपाल र नेपाली समाजका लागि योगदान गर्दै आएका थापाको खुट्टा तान्नुभन्दा सकारात्मक रूपमा सहयोग र साथ दिनुपर्ने बताएका छन्।
उनले लेखेका छन्, “हाम्रो आशा र भरोसा, जिज्ञान जी जापानमा २ दशकभन्दा बढी समय बिताएर देश र समाजका लागि योगदान गर्दै आउनुभएको एक असल व्यक्तिको खुट्टा तान्ने काम नगरौँ। उहाँलाई सक्नुहुन्छ भने सहयोग गर्नुहोस्, साथ दिनुहोस्। सहयोग गर्न सक्नुहुन्न भने पनि कृपया उहाँप्रति रिस, द्वेष र नकारात्मक सोच नराख्नुहोस्।”
अधिकारीले अरूको प्रगति देखेर निरुत्साहित पार्नुको सट्टा समाजका लागि अघि बढिरहेका व्यक्तिलाई हौसला दिनुपर्ने धारणा राखेका छन्।
समाजको हितका लागि अघि बढ्ने व्यक्तिलाई साथ दिनु नै सकारात्मक सोच र संस्कार भएको उनको भनाइ छ।
पीआरको विषयले चर्किएको बहस
थापा जापानका लागि राजदूतमा सिफारिस भएपछि उहाँको जापानी पीआरको विषय अहिले सार्वजनिक बहसको केन्द्रमा आएको छ। विभिन्न सञ्चारमाध्यमले थापाले सन् २०१८ मा जापानको स्थायी बसोबास अनुमति (पीआर) प्राप्त गरेको र जापानको कानागावा प्रिफेक्चरमा आफ्नै घर रहेको बताएको विवरण सार्वजनिक गरेका छन्।
परराष्ट्र मन्त्रालयले राजदूत पदका लागि आवेदन आह्वान गर्दा विदेशी मुलुकको स्थायी वा अस्थायी आवासीय अनुमति (पीआर) वा अध्यागमन सुविधा नलिएको हुनुपर्ने योग्यता उल्लेख गरेको समाचारहरूमा जनाइएको छ। यही कारण थापाको सिफारिसलाई लिएर प्रश्न उठेको हो।
यता, थापा निकट स्रोतले भने उनले जापानको नागरिकता वा पासपोर्ट नलिएको, जापानको भिसा प्रक्रियामा सहजता र बसाइलाई सहज बनाउन जापानी पीआर अर्थात् स्थायी बसोबास अनुमतिपत्र मात्रै लिएको बताएका छन्। १० वर्षको अवधि हुने उक्त पीआर थापाले केही समयअघि नै त्यागिसकेको र नेपालको कानुन तथा राजदूत नियुक्तिसम्बन्धी प्रक्रिया र मापदण्ड पूरा गरेरै सिफारिसमा परेको दाबी गरेको छ। तर, यो दाबीको स्वतन्त्र आधिकारिक पुष्टि भने सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन।
जापानमा लामो अनुभव
सार्वजनिक विवरणअनुसार थापा सन् २००० मा छात्रवृत्तिमा अध्ययनका लागि जापान पुगेका हुन्। त्यसयता उनले नेपाल–जापान सम्बन्ध, अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलाका क्षेत्रमा काम गर्दै आएका छन्।
सन् २००५ देखि नेपाल–जापानबीच हुने उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय कार्यक्रमको समन्वयमा समेत उनले भूमिका निर्वाह गर्दै आएको उल्लेख छ। थापा योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर र शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका व्यक्ति हुन्। उनी एनआरएनए जापानका पूर्वमहासचिव तथा नेपाल–जापान सम्बन्धका जानकारका रूपमा पनि सार्वजनिक विवरणमा उल्लेख छन्।
यसैबीच, पीआरसम्बन्धी विवाद र बहसबीच केशब अधिकारीले भने थापाप्रति नकारात्मक धारणा बनाउनुभन्दा उहाँले जापानमा गरेको लामो योगदानलाई समेत हेर्न आग्रह गरेका छन्।
अधिकारीले अन्त्यमा थापाको नयाँ कार्यकाल सफल रहोस् र देश तथा समाजप्रतिको योगदान अझै बढ्दै जाओस् भन्दै नयाँ कार्यकालको हार्दिक शुभकामनासमेत दिएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट