October 12, 2026

भर्खरै

अरूको जाइर्यु कार्ड प्रयोग गरेर २५० भियतनामीलाई अवैध काममा लगाएको आरोपमा ३१ वर्षीया महिला पक्राउ

राम्रो पोष्ट २५ असोज २०८३, आइतवार
अरूको जाइर्यु कार्ड प्रयोग गरेर २५० भियतनामीलाई अवैध काममा लगाएको आरोपमा ३१ वर्षीया महिला पक्राउ

टोकियो, जापान। जापानमा अरू व्यक्तिको नाममा रहेको जाइर्यु कार्ड (आवासीय कार्ड) तथा अन्य कागजात प्रयोग गरेर करिब २५० जना भियतनामी नागरिकलाई नियमविपरीत काममा लगाउन सहयोग गरेको आशंकामा ३१ वर्षीया भियतनामी महिला पक्राउ परेकी छन्।
जापानी सञ्चारमाध्यम टीबीएस न्युज डिगका अनुसार पक्राउ पर्नेमा गुयेन थि फेन (Nguyen Thi Fen) रहेकी छन्। उनी यसअघि कामदार आपूर्ति कम्पनीमा अंशकालीन कर्मचारीका रूपमा कार्यरत थिइन्।
प्रहरीका अनुसार यस वर्ष जनवरीदेखि जुन महिनासम्म उनले आफ्नो आवासीय हैसियतले अनुमति नदिएको काममा ३२ वर्षीया भियतनामी महिलालाई लगाउन मध्यस्थता गरेको आरोप छ। उक्त काममा सामान छाँट्ने कार्य समावेश रहेको बताइएको छ।
प्रहरीले पक्राउ परेकी महिला करिब २५० जना भियतनामी नागरिकलाई नियमविपरीत काममा लगाउन सहयोग गर्ने समूहको नेतृत्वमा रहेको आशंका गरेको छ।
तर, पक्राउ परेकी गुयेनले आफू पनि ठगिएको भन्दै आफूमाथि लागेका आरोपको केही अंश अस्वीकार गरेकी छन्।
जापानमा विदेशी नागरिकले आफ्नो आवासीय हैसियतले अनुमति नदिएको काम गरेमा कानुनी कारबाही हुन सक्छ। त्यस्तै, अरूको आवासीय कार्ड प्रयोग गरेर काम गर्ने वा त्यसका लागि सहयोग गर्ने कार्यले पनि कानुनी समस्या निम्त्याउन सक्छ। घटनाबारे जापानी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट