November 27, 2026

भर्खरै

प्रवासी नेपालीका लागि छुट्टै ‘एनआरएन मन्त्रालय’ गठन गर्न डा. बलराम श्रेष्ठको प्रस्ताव, दूतावासको सेवा सुधारदेखि लगानी भित्र्याउनेसम्म ६ बुँदे योजना!

राम्रो पोष्ट ११ मंसिर २०८३, शुक्रवार
प्रवासी नेपालीका लागि छुट्टै ‘एनआरएन मन्त्रालय’ गठन गर्न डा. बलराम श्रेष्ठको प्रस्ताव, दूतावासको सेवा सुधारदेखि लगानी भित्र्याउनेसम्म ६ बुँदे योजना!

टोकियो। विदेशमा रहेका नेपालीको अधिकार संरक्षण, लगानी परिचालन तथा उनीहरूको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकाससँग जोड्न छुट्टै ‘एनआरएन मन्त्रालय’ गठन गर्नुपर्ने प्रस्ताव लेखक तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. बलराम श्रेष्ठले अघि सार्नुभएको छ।
नेपाली कांग्रेस केन्द्रीय समितिको तेस्रो बैठकमा लिखित धारणा प्रस्तुत गर्दै डा. श्रेष्ठले प्रवासी नेपालीलाई केवल रेमिट्यान्स पठाउने स्रोतका रूपमा नभई राष्ट्र निर्माणका महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको हो।
उहाँले कांग्रेसको संगठनलाई समयानुकूल, पारदर्शी र जनमुखी बनाउन केन्द्रदेखि वडा तहसम्म संगठन सुदृढीकरण, युवा तथा महिला नेतृत्व विकास र डिजिटल कांग्रेस अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ।
डा. श्रेष्ठले प्रस्तुत गर्नुभएको ६ बुँदे नीतिगत सुझावमा संगठन सुधार, विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण, सुकुम्बासी तथा विस्थापित नागरिकको पुनःस्थापना, सरकारलाई रचनात्मक खबरदारी, स्थानीय निर्वाचनको पूर्वतयारी र डायस्पोराको सहभागिता समेटिएका छन्।
प्रवासी नेपालीको सहभागितालाई विशेष प्राथमिकता दिँदै उहाँले विदेशमा रहेका नेपालीको पुँजी, व्यावसायिक अनुभव, सीप र आधुनिक प्रविधिलाई नेपालको उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ।
यसका लागि नेपालका ७५३ वटै स्थानीय तहमा डायस्पोरा लगानी तथा उद्यम विकास डेस्क स्थापना गर्ने र प्रत्येक वर्ष नेपाल–डायस्पोरा लगानी तथा ज्ञान सम्मेलन आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ।
त्यस्तै, विदेशमा रहेका नेपालीले भोग्दै आएका तलब, भिसा, श्रम, दुर्घटना, मृत्यु, कानुनी समस्या तथा कन्सुलर सेवासम्बन्धी समस्याको समाधानका लागि एकीकृत प्रवासी नेपाली सहायता प्रणाली स्थापना गर्नुपर्ने उहाँको सुझाव छ।
डा. श्रेष्ठले विश्वभरका नेपाली राजदूतावास तथा कूटनीतिक नियोगको सेवा प्रभावकारी बनाउन पनि विशेष प्रस्ताव अघि सार्नुभएको छ। उहाँले प्रत्येक दूतावासमा प्रवासी नेपाली सहायता तथा सेवा सहजीकरण केन्द्र स्थापना, अनलाइन सेवा विस्तार, सेवाको समयसीमा निर्धारण र २४ घण्टा सञ्चालन हुने आपत्कालीन सहायता प्रणाली निर्माण गर्नुपर्ने बताउनुभएको छ।
त्यसैगरी, दूतावासबाट हुने ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न स्वतन्त्र अनुगमन तथा उजुरी संयन्त्र स्थापना गर्नुपर्ने र सेवा गुणस्तरको नियमित मूल्याङ्कन गर्नुपर्ने उहाँको धारणा छ।
उहाँका अनुसार विदेशमा रहेका नेपालीले आफ्नै देशको दूतावासबाट सेवा लिँदा सम्मान, सहजता र विश्वासको अनुभूति गर्न पाउनुपर्छ। राज्यको प्रतिनिधित्व गर्ने कूटनीतिक नियोगहरू प्रवासी नेपालीका लागि वास्तविक अभिभावक र सहयोगी संस्थाका रूपमा स्थापित हुन आवश्यक छ।
डा. श्रेष्ठको प्रस्तावको मूल उद्देश्य विदेशमा रहेका नेपालीको श्रम, पुँजी, ज्ञान, सीप र प्रविधिलाई संस्थागत रूपमा नेपालको समृद्धिसँग जोड्नु हो। उहाँले प्रवासी नेपालीलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नराखी राष्ट्र निर्माणको नीतिगत, आर्थिक र प्राविधिक साझेदार बनाउनुपर्नेमा जोड दिनुभएको छ।
प्रवासीको सीप, पुँजी र ज्ञान—समृद्ध नेपालको अभियान’भन्ने अवधारणासहित अघि सारिएको यस प्रस्तावले प्रवासी नेपालीको अधिकार संरक्षण, दूतावासको सेवा सुधार र नेपालमा लगानीको वातावरण निर्माणबारे महत्वपूर्ण नीतिगत बहस अघि बढाएको छ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट