डेमोक्र्याटले संसद् कब्जा गरे पनि ट्रम्प पछि नहट्ने! संसद्को अनुमतिबिनै शासन चलाउने ह्वाइट हाउसको गोप्य तयारी
राम्रो पोष्ट
१६ कार्तिक २०८३, सोमवार
वासिङ्टन। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसले आगामी मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्र्याटिक पार्टीले संसद्मा बहुमत हासिल गरे पनि आफ्नो प्रमुख राजनीतिक एजेन्डा अघि बढाउने रणनीति तयार पारेको छ। संसद्को नियन्त्रण गुमाउनुपर्ने अवस्था आए पनि कार्यकारी अधिकार प्रयोग गरेर शासन सञ्चालन गर्ने योजनामा ट्रम्प प्रशासन जुटेको हो।
रोयटर्सका अनुसार ट्रम्पका वरिष्ठ सहयोगीहरू स्टेफेन मिलर र बजेट निर्देशक रसेल भोटसहितका अधिकारीहरूले गत अप्रिलदेखि नै संसद्को अनुमतिबिना अघि बढाउन सकिने विभिन्न योजनामाथि काम गरिरहेका छन्।
योजनामा आप्रवासन नीति कडा बनाउने, आयातित वस्तुमा नयाँ भन्सार शुल्क लगाउने, आवास तथा निर्माण लागत घटाउने र संघीय सरकारी खर्चमा आफ्नो नियन्त्रण बढाउने विषय समेटिएका छन्।
त्यस्तै, अन्तर्राष्ट्रिय विद्यार्थी तथा अस्थायी विदेशी कामदारका भिसासम्बन्धी नियम थप कडा बनाउने प्रस्तावसमेत विचाराधीन रहेको बताइएको छ।
रिपब्लिकन पार्टीले संसद्मा बहुमत गुमाएमा ट्रम्पले आफूलाई 'भिटो राष्ट्रपति' बनाउने संकेतसमेत दिएका छन्। उनले सुरुमा डेमोक्र्याटले ल्याउने प्रस्तावमा भिटो प्रयोग गर्ने र पछि आवश्यकताअनुसार सम्झौता गर्ने बताएका छन्।
आगामी मध्यावधि निर्वाचनमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत प्राप्त गर्न डेमोक्र्याटलाई चार सिट थप आवश्यक छ। जनमत सर्वेक्षणले तल्लो सदनमा डेमोक्र्याटको सम्भावना बलियो देखाए पनि सिनेटको प्रतिस्पर्धा भने निकै कडा रहेको छ।
डेमोक्र्याटले संसद्मा बहुमत पाए ट्रम्प प्रशासनविरुद्ध अनुसन्धान अघि बढाउन, सरकारी अधिकारीसँग जवाफ माग्न, कागजात झिकाउन र नयाँ विधेयक रोक्न सक्नेछन्। सिनेटमा बहुमत पाए राष्ट्रपतिले नियुक्त गर्ने न्यायाधीश तथा उच्च सरकारी अधिकारीहरूको नियुक्तिसमेत रोक्न सक्नेछन्।
यद्यपि, राष्ट्रपतिले कार्यकारी आदेशमार्फत अघि बढाएका निर्णयलाई अदालतले गैरकानुनी ठहर गर्दै रोक्न सक्नेछ। यही कारण ट्रम्प प्रशासनले आफ्ना योजनालाई कानुनी चुनौतीबाट कसरी जोगाउने भन्ने विषयमा समेत तयारी गरिरहेको छ।
यसरी संसद्मा विपक्षीको बहुमत आए पनि कार्यकारी अधिकारको अधिकतम प्रयोग गरेर आफ्नो एजेन्डा अघि बढाउने ट्रम्पको रणनीतिले अमेरिकी राजनीतिमा नयाँ शक्ति संघर्षको संकेत गरेको छ।

राम्रो पोष्ट