पाइलटमाथि हमला भएपछि यात्रुहरू ककपिटमै पुगे, विमान दुर्घटना हुनबाट जोगाए!
राम्रो पोष्ट
१५ असोज २०८३, बिहिवार
दुबई । दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि सह–पाइलटले हमला गरेपछि यात्रुहरू ककपिटमै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिएका छन्। यात्रु र चालक दलको सक्रियताका कारण विमान ठूलो दुर्घटनाबाट जोगिएको इजरायली अधिकारीहरूले बताएका छन्।
बुधबार फ्लाईदुबईको उडान नम्बर FZ1073 दुबईबाट तेल अभिभतर्फ उडिरहेका बेला सह–पाइलटले मुख्य पाइलटमाथि चक्कु प्रहार गरेका थिए। घटनापछि विमान करिब ३० सेकेन्डमै झन्डै १४ हजार फिट तल झरेको बताइएको छ।
घाइते पाइलटले ककपिटको ढोका खोल्ने संयन्त्र सक्रिय गर्न सफल भएपछि यात्रु तथा चालक दलका सदस्यहरू ककपिटमा पुगेका थिए। उनीहरूले सह–पाइलटलाई नियन्त्रणमा लिएपछि विमानमा रहेका अर्का दुई फ्लाईदुबई पाइलटले विमानको नियन्त्रण सम्हालेका थिए।
त्यसपछि विमानलाई साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गराइएको थियो। विमानमा १७४ जना यात्रु तथा चालक दलका सदस्य रहेको इजरायली अधिकारीहरूले बताएका छन्।
ताबुकमा अवतरणपछि घाइते दुवै पाइलटलाई अस्पताल लगिएको थियो। यात्रुहरूलाई भने अर्को फ्लाईदुबई विमानमार्फत करिब १० घण्टापछि इजरायलको बेन गुरियन विमानस्थल पुर्याइएको थियो।
घटनामा एक ५१ वर्षीय यात्रुलाई समेत शरीरको माथिल्लो भागमा चोट लागेको र उनको अवस्था सामान्य रहेको इजरायली एम्बुलेन्स सेवाले जनाएको छ।
इजरायली अधिकारीका अनुसार सह–पाइलट ओमानी नागरिक रहेको बताइएको छ। घटनाको वास्तविक कारण र उनको उद्देश्यबारे अनुसन्धान भइरहेको छ।
फ्लाईदुबईले पनि ककपिटमा विवाद भएको र त्यसपछि विमानलाई ताबुकतर्फ डाइभर्ट गरिएको पुष्टि गरेको छ। तर घटनाको कारणबारे तत्काल निष्कर्षमा नपुग्न कम्पनीले आग्रह गरेको छ।
घटनापछि इजरायलले आफ्नो देशतर्फ उडान गर्ने पाइलटहरूको पहिचान तथा सुरक्षा जाँच थप कडा बनाउने जनाएको छ।

राम्रो पोष्ट