पाइलटबीच कुटाकुटपछि आकाशमै मच्चियो हंगामा, फ्लाई दुबईको विमान साउदी अरबमा आकस्मिक अवतरण
राम्रो पोष्ट
१४ असोज २०८३, बुधवार
तेल अभिभ। दुबईबाट इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा दुई पाइलटबीच शारीरिक झगडा भएपछि विमानलाई साउदी अरबको ताबुकतर्फ मोडेर आकस्मिक अवतरण गराइएको छ।
फ्लाई दुबईको एफजेड १०७३ उडानमा पाइलटहरूबीच झगडा भएपछि विमानबाट आपत्कालीन संकेतहरू प्रसारण भएका थिए। ती संकेतमध्ये एकले सम्भावित गैरकानुनी हस्तक्षेप वा विमान अपहरणको आशंकासमेत उत्पन्न गराएको थियो।
आपत्कालीन संकेत प्राप्त भएपछि इजरायलले सम्भावित अपहरणको आशंकामा लडाकु विमानसमेत परिचालन गरेको थियो।
तर पछि इजरायली अधिकारीहरूले विमान अपहरण नभएको र समस्या विमानभित्रै दुई पाइलटबीच भएको शारीरिक झगडाबाट उत्पन्न भएको बताएका छन्।
विमानले आफ्नो मार्ग परिवर्तन गर्दै उत्तरपश्चिमी साउदी अरबस्थित ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो।फ्लाई दुबईले विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको जनाएको छ।
रोयटर्सका अनुसार, पाइलटबीच झगडा भएपछि आपत्कालीन संकेतहरू प्रसारण भएका थिए। यद्यपि झगडाको कारण र आपत्कालीन संकेत कसरी प्रसारण भए भन्ने विषयमा थप विवरण स्पष्ट हुन बाँकी छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
घटनाका कारण सुरुमा विमान अपहरण भएको आशंका भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा अधिकारीहरूसँग आपत्कालीन छलफलसमेत गरेका थिए।
पछि प्रधानमन्त्री कार्यालयले अवस्था नियन्त्रणमा रहेको र यो अपहरणको घटना नभएको जनाएको छ।
विमानमा १७० भन्दा बढी यात्रु रहेको बताइएको छ साउदी अरबमा अवतरण गरिएका यात्रुलाई सुरक्षित रूपमा गन्तव्यतर्फ फर्काउने प्रयास भइरहेको जनाइएको छ।

राम्रो पोष्ट