ट्रम्पले ‘फेक न्युज’ भन्दै रोक लगाए, सीएनएन–एमएस नाउ–पोलिटिकोले ठोके अदालतको ढोका!
राम्रो पोष्ट
६ असोज २०८३, मङ्गलवार
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा रोक लगाएपछि तीन ठूला सञ्चारमाध्यम सीएनएन, एमएस नाउ र पोलिटिको अदालत पुगेका छन्।
ट्रम्प प्रशासनले यी सञ्चारमाध्यमका ह्वाइट हाउस संवाददाताको प्रवेश पास निष्क्रिय गर्दै ह्वाइट हाउस परिसरमा प्रवेश गर्न रोक लगाएको थियो। त्यसपछि तीनवटै सञ्चारमाध्यमले संयुक्त रूपमा सरकारविरुद्ध मुद्दा दायर गरेका हुन्।
ट्रम्पले ती सञ्चारमाध्यमको समाचारलाई ‘फेक न्युज’ भन्दै आलोचना गर्दै आएका छन्। सामाजिक सञ्जालमा उनले आफू स्वतन्त्र प्रेसको पक्षमा रहेको बताए पनि ‘फेक न्युज’ विरुद्ध भने कडा कदम चाल्नुपर्ने बताएका छन्।
सीएनएन, एमएस नाउ र पोलिटिकोले भने समाचारको सामग्रीप्रति ट्रम्प प्रशासन असन्तुष्ट भएकै कारण आफूहरूलाई ह्वाइट हाउसबाट प्रतिबन्ध लगाइएको दाबी गरेका छन्। उनीहरूले यस्तो कदमले अमेरिकी संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको अधिकार उल्लंघन गरेको बताएका छन्।
तीन सञ्चारमाध्यमले अदालतसँग प्रतिबन्ध तत्काल रोक्न अन्तरिम आदेशसमेत माग गरेका छन्। उनीहरूको दाबीअनुसार सरकारले पत्रकारले कस्तो समाचार प्रकाशित गर्छ भन्ने आधारमा सञ्चारमाध्यमलाई सरकारी पहुँचबाट हटाउन पाउँदैन।
यता ट्रम्प प्रशासनले भने ह्वाइट हाउस प्रवेश अधिकार नभई सुविधा मात्र भएको तर्क गरेको छ। प्रशासनका अनुसार पहिलो संशोधनले सञ्चारमाध्यमलाई समाचार प्रकाशित गर्ने अधिकार दिन्छ, तर ह्वाइट हाउसको प्रेस पास, ब्रीफिङ कक्ष वा प्रेस पूलमा अनिवार्य पहुँचको अधिकार प्रदान गर्दैन।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि सरकारको निर्णयको बचाउ गर्दै यो प्रेस स्वतन्त्रता खोस्ने प्रयास नभएको बताएका छन्। उनले ती सञ्चारमाध्यमलाई ह्वाइट हाउसबाट समाचार संकलन गर्न निश्चित पहुँच नदिइएको मात्र भएको बताएका छन्।
यस घटनाले ट्रम्प प्रशासन र अमेरिकी सञ्चारमाध्यमबीचको पुरानो तनावलाई थप चर्काएको छ। ह्वाइट हाउस प्रवेश रोक्ने सरकारी निर्णय कानुनी रूपमा टिक्छ कि प्रेस स्वतन्त्रताको उल्लंघन ठहरिन्छ भन्ने विषय अब अदालतको निर्णयमा निर्भर हुनेछ।

राम्रो पोष्ट