भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला, ४ हजार ४४ जना अझै बेपत्ता
राम्रो पोष्ट
२१ भदौ २०८३, आइतवार
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा शनिबार राति ८ बजेसम्म १ हजार ३ सय ३८ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट ती शव फेला परेका हुन्।
फेला परेका शवमध्ये रसुवामा १ सय ६३, नुवाकोटमा १ सय ९३, धादिङमा ६७, चितवनमा ३ सय ६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय १९ जना रहेका छन्।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३० वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि मृतकका १ हजार २ सय ६९ र आफन्तका १ हजार ६७ गरी कुल २ हजार ३ सय ३६ वटा डीएनए नमुना संकलन गरिएको छ। पहिचान हुन नसकेका १ हजार २ सय ९७ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
यसैबीच, बाढीपछि अझै ४ हजार ४४ जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ९८ जना व्यक्तिलाई राखिएको छ।
प्रहरीले जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै स्थानीयवासी तथा विभिन्न निकायसँगको समन्वयमा उद्धार र खोजी कार्यलाई निरन्तरता दिइरहेको छ। बाढीका कारण अवरुद्ध भएका विभिन्न सडक तथा बाटो खुलाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।

राम्रो पोष्ट