भोटेकोशी बाढीको ताण्डवः धादिङमा ५ पक्की र ११ झोलुङ्गे पुल बगे, १५० घरमा क्षति
राम्रो पोष्ट
१० भदौ २०८३, बुधवार
धादिङ — चीनतर्फको हिमताल फुटेपछि भोटेकोशी हुँदै आएको भीषण बाढीले धादिङमा ठूलो विनाश गरेको छ। प्रारम्भिक विवरणअनुसार बाढीले ५ वटा पक्की पुल र ११ वटा झोलुङ्गे पुल बगाएको छ भने करिब १५० घरमा क्षति पुगेको छ।
बाढीले धादिङबेसीलाई पृथ्वीराजमार्गसँग जोड्ने मलेखुको फुर्केखोला पुलसमेत बगाएपछि सदरमुकामसँगको मुख्य यातायात सम्पर्क टुटेको छ। गल्छी, गजुरी, बेनिघाट रोराङ तथा सिद्धलेक क्षेत्रका बस्ती र संरचनामा समेत ठूलो क्षति पुगेको छ।
गल्छी गाउँपालिकामा मात्रै २५ घर पूर्ण र ४५ घर आंशिक क्षति भएका छन्। पेट्रोल पम्प, अस्पताल, विद्यालय तथा वित्तीय संस्थाका कार्यालयमा समेत बाढी पसेको छ भने २० भन्दा बढी सवारीसाधनमा क्षति पुगेको बताइएको छ।
गजुरीमा खेलकुद कभर्डहल पूर्ण रूपमा बगेको छ। विभिन्न बजार क्षेत्रमा दर्जनौँ घरमा क्षति पुगेको छ। बेनिघाट रोराङमा होटल तथा जिपलाइनसमेत बाढीको चपेटामा परेका छन्।
बाढीका कारण विद्युत् सबस्टेसनमा क्षति पुगेपछि राजमार्ग क्षेत्रमा विद्युत्, टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको छ।
यसबीच धादिङको सांङ्कोषबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएको टोलीसमेत सम्पर्कविहीन भएको खबरले थप चिन्ता बढाएको छ। परिवारका अनुसार रिजर्भ बसमा गएको टोली बेत्रावती पुगेपछि सम्पर्क हुन सकेको छैन। २९ जना सम्पर्कविहीन भएको बताइए पनि सार्वजनिक नामावलीमा हाल २६ जनाको विवरण आएको छ।
प्रशासनले जोखिमयुक्त क्षेत्र तथा पुलमा आवतजावत रोक लगाएपछि ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताइएको छ।
तर यातायात सम्पर्क टुटेपछि धादिङबेसीमा ग्यास, पेट्रोलियम पदार्थ र खाद्यान्नको अभाव देखिन थालेको छ। केही ठाउँमा कृत्रिम अभाव र मूल्यवृद्धिको गुनासोसमेत आएको छ।
बाढीपछि जिल्ला विपद् व्यवस्थापन समितिले उद्धार, राहत र पुनःस्थापनाको तयारी थालेको छ भने नीलकण्ठ नगरपालिकाले बजार अनुगमन सुरु गरेको जनाएको छ।
गरिमाको हत्यापछि सरकारको ठूलो कदम! कानुन र सजाय पुनरावलोकन गर्न ७ दिनभित्र ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन

राम्रो पोष्ट