August 1, 2026

भर्खरै

सगरमाथालाई १५ पटक चुम्दै नेपालको झण्डा संसारभर फहराउने एक साहसी आरोहीको ब्रड पिकमै भएको दुःखद अन्त्यले नेपाली पर्वतारोहण इतिहासमा गहिरो शोक थपेको छ।

सगरमाथा १५ पटक चुम्ने नेपाली आरोहीको ब्रड पिकमै दुःखद अन्त्य

राम्रो पोष्ट १५ साउन २०८३, शुक्रवार
सगरमाथा १५ पटक चुम्ने नेपाली आरोहीको ब्रड पिकमै दुःखद अन्त्य

दोलखा। विश्वको सर्वोच्च शिखर सगरमाथा १५ पटक सफलतापूर्वक आरोहण गरेका विश्वकिर्तिमानी नेपाली पर्वतारोही किलि पेम्बा शेर्पा (किलु) को पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रड पिक हिमालमा आएको हिमपहिरोमा परी दुःखद निधन भएको छ। शुक्रबार उनको शव फेला परेको जानकारी परिवार स्रोतले दिएको छ।
दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङ निवासी ४५ वर्षीय शेर्पा विश्व पर्वतारोहण क्षेत्रमा साहस, अनुभव र कीर्तिमानका लागि परिचित नाम थिए। उनी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) नेतृत्वको ब्रड पिक आरोहण टोलीमा सहभागी थिए। शिखरतर्फ अघि बढिरहेका बेला आएको भीषण हिमपहिरोपछि टोलीका केही सदस्य सम्पर्कविहीन भएका थिए।
किलि पेम्बाले गत वर्ष ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गरी अर्को विश्व कीर्तिमान पनि कायम गरेका थिए। साथै, सन् २०२१ मा के–टु हिमालको पहिलो शीतकालीन सफल आरोहण गर्ने ऐतिहासिक नेपाली टोलीका सदस्यका रूपमा उनले विश्वभर नेपालको नाम उँचो बनाएका थिए।
१८ वर्षको उमेरदेखि भरियाका रूपमा हिमाल यात्रामा प्रवेश गरेका किलि पेम्बा पछि अन्तर्राष्ट्रिय स्तरका भरपर्दा पर्वतारोहण गाइड बने। आफ्नो मेहनत, साहस र समर्पणका बलमा उनी विश्वकिर्तिमानी आरोहीको रूपमा स्थापित भएका थिए।
उनको निधनको खबरसँगै दोलखा मात्र होइन, सम्पूर्ण नेपाली पर्वतारोहण क्षेत्र शोकमा डुबेको छ। परिवारले उनको शव यथाशीघ्र नेपाल ल्याउन सरकारसँग पहल गरिदिन आग्रह गरेको छ। यद्यपि नेपाल सरकारले अहिलेसम्म औपचारिक रूपमा उनको निधनको पुष्टि गरिसकेको छैन।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट