बलात्कारपछि बेहोस ३ वर्षीया बालिकालाई डोरीमा झुण्ड्याएर मारेँ : सुमन थापाको बयान
राम्रो पोष्ट
३ भदौ २०८३, बुधवार
बारा । बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले स्तब्ध बनाएको छ। घटनामा पक्राउ परेका सुमन थापाले प्रहरीसमक्ष दिएको बयानअनुसार उनले बालिकालाई बलात्कार गरेपछि बेहोस अवस्थामा पुगेकी बालिकालाई डोरीमा झुण्ड्याएर हत्या गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार बालिका आइतबार बिहानदेखि बेपत्ता भएकी थिइन्। सुमनले उनलाई आफू काम गर्ने म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरीको घरबाट लगेर नजिकैको स्थानमा पुर्याएको अनुसन्धानबाट खुलेको छ।
प्रहरीसमक्ष सुमनले दिएको बयानअनुसार बलात्कारपछि बालिका बेहोस भएपछि उनले डोरीमा झुण्ड्याएर त्यहाँबाट फर्किएका थिए। पछि पुनः घटनास्थलमा पुगेर बालिकाको शव कपडामा पोको पारेको पनि उनले बताएका छन्।
बालिका बेपत्ता भएपछि खोजी अभियान चलिरहेका बेला सुमन स्वयं प्रहरीसँगै घटनास्थल वरपर हिँडडुल गर्दै बालिका खोज्न खटिएको बताइएको छ। तर तालिमप्राप्त कुकुरसहित अनुसन्धान गर्न पुगेको प्रहरी टोलीले शंका लागेपछि उनलाई नियन्त्रणमा लिएको थियो।
मंगलबार साँझ बालिकाको शव घरबाट करिब २०० मिटर टाढा रहेको एउटा खाली घरमा कपडामा पोको पारिएको अवस्थामा फेला परेको थियो।
घटनामा सुमन थापासहित म्याजिक भ्यानका चालक प्रोग्रेस चौधरीलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। यद्यपि सुमनले घटनामा आफ्नो मात्रै संलग्नता रहेको प्रहरीसमक्ष बताएका छन्।
घटनापछि सिमरा क्षेत्रमा स्थानीय आक्रोशित बनेका छन्। दोषीमाथि हदैसम्मको कानुनी कारबाही हुनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शनसमेत गरेका छन्।

राम्रो पोष्ट