फेवाताल जग्गा प्रकरणः गृहमन्त्री गुरूङ भन्छन्– “हामी ठगियौं, कानुनी उपचारमा जान्छौं”
राम्रो पोष्ट
२३ चैत २०८२, सोमवार
काठमाडौं, — पोखराको फेवाताल किनारसँग सम्बन्धित जग्गा प्रकरणमा गृहमन्त्री सुधन गुरूङले आफू ठगिएको दाबी गर्दै कानुनी उपचारमा जाने बताएका छन्।
यो विषय पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल किनारको मापदण्डभित्र पर्ने क्षेत्रमा गृहमन्त्री गुरूङको करिब २० रोपनी जग्गा रहेको सार्वजनिक गरेपछि चर्चामा आएको हो। मेयर आचार्यका अनुसार गृहमन्त्रीले उक्त जग्गा अतिक्रमणभित्र परे पनि हटाउन आग्रह गरेका थिए।
तर गृहमन्त्री गुरूङले भने उक्त जग्गा आफूले स्वामित्वमा नभई व्यवसायिक प्रयोजनका लागि भाडामा लिएको स्पष्ट पारेका छन्। उनका अनुसार जग्गाधनीले मापदण्डभित्र पर्ने अतिक्रमित जग्गा भन्ने तथ्य लुकाएर आफूलाई झुक्याएका थिए।
सचिवालयमार्फत् सार्वजनिक गरिएको वक्तव्यमा गृहमन्त्री गुरूङले भनेका छन्,
“हामीलाई झुक्क्याएर ठगेर जग्गा भाडामा दिइएको तथ्य थाहा पाएपछि नैतिकताका आधारमा तत्कालै निर्माण कार्य र लगानी रोकिएको थियो। हाम्रो लगानी र सपनामाथि भएको खेलबाड स्वीकार्य छैन।”
उनका अनुसार फेवाताल किनारको उक्त जग्गा ६५ मिटर मापदण्डभित्र पर्ने कुरा भाडामा लिएपछि मात्र थाहा भएको हो।
गृहमन्त्री गुरूङले करिब ८–१० वर्षअघि अन्य दुई युवा उद्यमीसँग मिलेर ‘एड्भेन्चर स्पोट्र्स नेपाल’ सञ्चालन गर्ने उद्देश्यले उक्त जग्गा भाडामा लिएको बताए। उनले थपे,
“जग्गा भाडामा लिनुअघि जग्गाधनीले मापदण्डभित्र नपर्ने भन्दै विश्वास दिलाएका थिए, तर पछि नगरपालिकाबाट बुझ्दा वास्तविकता फरक भेटियो।”
उनले अब आफूविरुद्ध भएको ठगीप्रति कानुनी कारबाहीका लागि अघि बढ्ने स्पष्ट पारेका छन्।
यसैबीच, मेयर आचार्यका अनुसार गृहमन्त्रीले देखाएको जग्गा फेवातालको मापदण्डभित्र मात्र नभई दूषित रूपमा दर्ता भएको समेत खुलेको छ। सर्वोच्च अदालतको आदेशअनुसार यस्ता जग्गाको दर्ता खारेज हुने र मुआब्जा समेत नपाइने व्यवस्था रहेको उनले जानकारी दिएका छन्।
मेयर आचार्यले गृहमन्त्रीलाई यसबारे जानकारी गराउँदा उनी सहमत भएको पनि बताएका छन्।

राम्रो पोष्ट