October 11, 2026

भर्खरै

१४ वर्षदेखि जापानमा, मनमा संगीतको मोह! पूर्ण दोङ लामाको नयाँ तामाङ सेलो ‘मेड इन तामाङला’ ले तान्यो ध्यान!

राम्रो पोष्ट २४ असोज २०८३, शनिवार
१४ वर्षदेखि जापानमा, मनमा संगीतको मोह! पूर्ण दोङ लामाको नयाँ तामाङ सेलो ‘मेड इन तामाङला’ ले तान्यो ध्यान!

टोकियो, जापान । विदेशमा रहेर पनि आफ्नो कला, भाषा र संस्कृतिप्रतिको मोहलाई निरन्तरता दिनु आफैँमा एउटा विशेष यात्रा हो। जापानमा १४ वर्ष बिताइसकेका गायक पूर्ण दोेङ लामाले आफ्नो सांगीतिक रुचिलाई निरन्तरता दिँदै नयाँ तामाङ सेलो गीत ‘मेड इन तामाङला’ सार्वजनिक गरेका छन्। औपचारिक रूपमा गीत सार्वजनिक गर्न थालेको दुई वर्षमै उनका तीनवटा अफिसियल गीत श्रोतामाझ आएका छन्।
सानैदेखि गाउँघरमा गीत गाउँदै रमाउने पूर्णाको संगीतप्रतिको लगाव बाल्यकालदेखि नै थियो। पढाइसँगै गायनलाई पनि अघि बढाएका उनी प्लस टु, ब्याचलर र मास्टर्स अध्ययनका क्रममा समेत कलेजमा गीत गाउने गर्थे। समय बित्दै जाँदा जीवनको बाटो जापानतर्फ मोडिए पनि संगीतप्रतिको मोह भने हराएन।
बी.एड. अध्ययन गर्ने क्रममा पूर्णा ‘खोजी प्रतिभा–२’ कार्यक्रममा समेत सहभागी भएका थिए। तर, पियानो राउन्डमा भने उनी अघि बढ्न सकेनन्। उक्त अनुभवलाई उनी अहिले पनि रमाइलो सम्झनाका रूपमा लिन्छन्। औपचारिक प्रतियोगितामा सफलता हात नपरे पनि गायनप्रतिको रुचि र संगीतसँगको सम्बन्धलाई उनले निरन्तरता दिइरहे।
हाल जापानको टोकियोमा बस्दै आएका पूर्णले औपचारिक रूपमा सांगीतिक यात्रा सुरु गरेको दुई वर्ष भएको बताएका छन्। यस अवधिमा उनका ‘आमा’, तामाङ गीत ‘स्याइले ज्योज्यो आले नाना आङ्गा’ र पछिल्लो तामाङ सेलो ‘मेड इन तामाङला’ सार्वजनिक भएका छन्।
तामाङ भाषा र संस्कृतिसँग जोडिएको नयाँ प्रस्तुति
पूर्ण दोङलामाको स्वर रहेको ‘मेड इन तामाङला’ मा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ। गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी डोल्मा शेर्पाले गरेकी छन्। भिडियोमा अमिर मोक्तान र लक्ष्मी वाइबा मुख्य कलाकारका रूपमा देखिएका छन्।
भिडियोमा अनिल मोक्तान, अवन्जेलिना लामा, महेन्द्र घलान र अलिना घिसिङ तामाङले नृत्य प्रस्तुत गरेका छन्। 
सहायक कोरियोग्राफी अमिर मोक्तानको रहेको छ भने छायांकन पूर्ण दोङले गरेका छन्। क्यामेरा सहायक अशोक घिसिङ हुन्। भिडियो सम्पादन तथा कलर ग्रेडिङ अनिल बिष्ट प्युठानीले गरेका छन् भने मेकअपको जिम्मेवारी लक्ष्मी वाइबाले सम्हालेकी छन्।
प्रवासमा पनि संगीतप्रतिको निरन्तरता
जापानमा लामो समयदेखि बसोबास गर्दै आएका पूर्णा दोङ लामाको सांगीतिक यात्राले प्रवासमा रहेर पनि आफ्नो रुचि र सिर्जनालाई अघि बढाउन सकिने सन्देश दिन्छ। बाल्यकालदेखि गीत गाउने रहर बोकेका उनले अहिले आफ्नै गीतमार्फत श्रोतामाझ पुग्ने बाटो बनाइरहेका छन्।
१४ वर्षको जापान बसाइ, बाल्यकालदेखिको गायनप्रतिको मोह र पछिल्ला दुई वर्षको औपचारिक सांगीतिक यात्राबीच पूर्णको नयाँ गीत ‘मेड इन तामाङला’ सार्वजनिक भएको छ ।
तामाङ सेलो संगीतप्रेमी तथा भाषा र संस्कृतिप्रति चासो राख्ने दर्शकका लागि यो गीत उनको सांगीतिक यात्राको अर्को नयाँ प्रस्तुति बनेको छ ।
सानैदेखिको रहरलाई निरन्तरता दिँदै प्रवासबाट संगीतमा सक्रिय रहेका पूर्णा दोङ लामाको आगामी सांगीतिक यात्राले कस्तो मोड लिन्छ, त्यो भने आगामी सिर्जनाले देखाउनेछ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट