२७ माघ २०८२, मङ्गलवार

भर्खरै

स्याङ्जा समाज जापानद्वारा कानुन, होकेन र नेन्किनसम्बन्धी भर्चुअल कार्यक्रम सम्पन्न

राम्रो पोष्ट १२ माघ २०८२, सोमवार
स्याङ्जा समाज जापानद्वारा कानुन, होकेन र नेन्किनसम्बन्धी भर्चुअल कार्यक्रम सम्पन्न

News Summary


  • स्याङ्जा समाज जापानले जापानमा बसोबास गर्ने नेपालीलाई लक्षित गरी कानुन, स्वास्थ्य बीमा (होकेन) र पेन्सन (नेन्किन) सम्बन्धी जानकारीमूलक भर्चुअल कार्यक्रम सम्पन्न गर्‍यो।
  • कार्यक्रममा कानुन नबुझ्दा आइपर्ने जोखिम, होकेन र नेन्किनका फाइदा तथा अनिवार्यताबारे विशेषज्ञहरूले विस्तृत व्यावहारिक ज्ञान प्रदान गरे।

टोकियो — जापानमा बसोबास गर्दै आएका नेपालीलाई लक्षित गरी कानुन, होकेन (स्वास्थ्य बीमा), नेन्किन (पेन्सन) तथा जेडिकनसम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको जानकारीमूलक कार्यक्रम आइतबार (जनवरी २५) सफलतापूर्वक सम्पन्न भएको छ।
स्याङ्जा समाज जापानको आयोजनामा भर्चुअल माध्यमबाट सम्पन्न उक्त कार्यक्रममा जापानको कानुन नबुझ्दा आइपर्न सक्ने जोखिम, स्वास्थ्य बीमा (होकेन) को अनिवार्यता, नेन्किन नतिर्दा हुने समस्या, साथै होकेन र नेन्किनका फाइदा तथा सम्भावित जोखिमबारे विस्तृत रूपमा छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै स्याङ्जा समाज जापानका अध्यक्ष बेद कार्कीले जापानमा बसोबास गर्ने धेरै नेपालीहरू कानुन, स्वास्थ्य बीमा र पेन्सन प्रणालीबारे पर्याप्त जानकारी नहुँदा विभिन्न समस्या र जोखिममा पर्ने गरेको बताए। यस्ता जानकारीमूलक कार्यक्रमले नेपाली समुदायलाई सचेत, सुरक्षित र जिम्मेवार बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।
कार्यक्रमका वक्ताका रूपमा अन्तर्राष्ट्रिय अधिवक्ता तथा कानुनी विशेषज्ञ डा. बलराम श्रेष्ठले जापानको कानुनी संरचना, आप्रवासीले ध्यान दिनुपर्ने कानुनी दायित्व तथा लापरवाही गर्दा आइपर्न सक्ने समस्याबारे प्रस्ट पारे। त्यसैगरी होकेनसम्बन्धी जानकार मनोज दुंगानाले स्वास्थ्य बीमा र नेन्किन प्रणालीका व्यवहारिक पक्ष, फाइदा तथा ध्यान दिनुपर्ने कुराहरू सहभागीहरूमाझ स्पष्ट रूपमा राखेका थिए।
कार्यक्रमको सहजीकरण सञ्चारकर्मी राजन गौतमले गरेका थिए। भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा जापानका विभिन्न स्थानमा रहेका नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रमका मिडिया पार्टनरका रूपमा राम्रोपोष्ट, नेपाल न्युज पोष्ट, मातृ सन्देश डटकम तथा  जापान समाचार रहेका थिए।
जापानमा रहेका नेपाली समुदायका लागि अत्यन्त उपयोगी मानिएको यस कार्यक्रमले सहभागीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरेको प्रतिक्रिया प्राप्त भएको आयोजकले बताएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट