११ फागुन २०८२, मङ्गलवार

भर्खरै

सिजुओकामा मोना सिजुओकाको जित, ‘सेभेन सामुराई गोल्ड कप २०२६’ को उपाधि हात पार्दै इतिहास रचियो

राम्रो पोष्ट ११ फागुन २०८२, सोमवार
सिजुओकामा मोना सिजुओकाको जित, ‘सेभेन सामुराई गोल्ड कप २०२६’ को उपाधि हात पार्दै इतिहास रचियो

सिजुओका, जापान — जापानस्थित नेपाली समुदायबीच आयोजित ‘सेभेन सामुराई गोल्ड कप २०२६’ को उपाधि मोना सिजुओकाले जितेको छ। सिजुओका युनाइटेडको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेल अत्यन्त प्रतिस्पर्धात्मक बनेको थियो। घरेलु टोली सिजुओका युनाइटेडलाई पराजित गर्दै मोना सिजुओकाले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो।
फाइनल खेलमा दुवै टोलीले आक्रामक सुरुवात गरे पनि निर्णायक क्षणमा मोना सिजुओकाले अवसरको सदुपयोग गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको थियो। घरेलु समर्थकहरूको उत्साहपूर्ण साथ हुँदाहुँदै पनि आयोजक सिजुओका युनाइटेड उपविजेतामै सीमित हुन पुग्यो।
प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष कैलाश थापाको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा ‘टाइटल स्पोन्सर’ सेभेन सामुराई इन्टरनेशनलका CEO तथा एनआरएनए एसिया प्यासिफिक युथ को–अर्डिनेटर रेशम कुमार डंगोल सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा एनआरएनए एसिया प्यासिफिक संयोजक डा. बलराम श्रेष्ठको उपस्थिति रहेको थियो।
त्यसैगरी ANFA Japan का अध्यक्ष शिव खड्का,NRNA Shizuoka का संयोजक सुमन पौडेल, पूर्व संयोजकद्वय राजु डंगोल र रमेश भण्डारीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरू कार्यक्रममा उपस्थित थिए। वक्ताहरूले प्रवासमा नेपाली खेलकुदलाई प्रवद्र्धन गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विधागत रूपमा सम्मान गरिएको थियो। उत्कृष्ट गोलरक्षकको उपाधि राजु तामाङले प्राप्त गरे भने उत्कृष्ट खेलाडी अनिल मोक्तान घोषित भए। सर्वाधिक गोलकर्ताका रूपमा अशोक नेपाली पुरस्कृत भए।
विभिन्न संघ–संस्था र व्यक्तिहरूको आर्थिक तथा भौतिक सहयोगमा सम्पन्न उक्त प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति आयोजकले आभार व्यक्त गरेको छ। जापानमा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सद्भाव सुदृढ बनाउन प्रतियोगिता सफल भएको आयोजकको दाबी छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट