गलत सूचना प्रवाहले विवाद, पत्रकार तिमल्सिनाले गरे क्षमायाचना



दोलखा । नेकपा (एमाले)का नेता पार्वत गुरुङसँग जोडिएको विवादबारे फेसबुकमा धारणा राखेका पत्रकार प्रकाश तिमल्सिनाले प्रष्टिकरणसहित माफी मागेका छन् ।
तिमल्सिनाले बताएका छन् कि अहिलेको राजनीतिक परिस्थितिमा कसैले जानी–जानी गलत सूचना प्रवाह गरी पार्वत गुरुङको राजनीतिक छवि कमजोर पार्ने प्रयास भएको हुनसक्छ भन्ने फिडब्याक प्राप्त भएको हो ।
यस क्रममा हिमालयन बायोकिचेन नामक निजी व्यवसायमा अनावश्यक असर पुगेको भन्दै उनले व्यवसायी गुरुङकी पत्नीप्रति सार्वजनिक माफी मागेका छन् ।
तिमल्सिनाले भनेका छन्, “म हरेक पेशा र व्यवसायको सम्मान गर्छु, तर मेरो पोस्टका कारण अप्ठ्यारो सिर्जना भएको छ, त्यसका लागि म क्षमायाचना गर्छु।” उनले भविष्यमा प्रमाणसहित नयाँ तथ्य बाहिर आए मात्र लेख्ने प्रतिवद्धता पनि जनाएका छन् र पत्रकारिताको मूलमर्म अनुसार सत्यतथ्य खोज्ने दायित्व कायम रहने स्पष्ट पारेका छन्।
प्रकाश तिमल्सिना फेसबुकमा लेख्छन..……
मैले केही दिन अघि फेसबुकमा हिमालयन वायो किचनका बारेमा लेखेको थिए, र, नेकपा एमालेका नेता पार्वत गुरूङलगायतको विषयमा लेखेको थिए । जस पछि विभिन्न क्रिया, प्रतिक्रिया, सत्यतथ्यको बारेमा फेसबुक कमेन्ट र जानकारी हुनेहरूबाट मलाई त्यस बारेमा सल्लाह, सुझावहरू प्राप्त भएका छन्।
खासमा यो रेष्टुरेन्ट उहाँको श्रीमतीको रहेछ, श्रीमान र श्रीमतीको पेशा ब्यावसाय फरक हुन्छ, कसैको पेसा र ब्यावसाय माथी आजसम्म मैले मार्दन गरेको थिईन, गर्नु पनि हुन्न भन्नेमा म सचेत रहेको छु । म हरेक पेशालाई सम्मान गर्नु पर्छ भन्ने मान्यता राख्छु । मैले यसअघि पनि मिनबहादुर गुरूङको पक्षमा लेखेको हुँ, जबकी मैले उहाँको नियमित ग्राहक हुनु बाहेक चिनजान त परै जाओस्, प्रत्यक्ष देखेको पनि छैन् तर पनि मैले ब्रम्हले देखेको लेखेको हुँ ।
तर, केही दिन अघिको बायो किचनका बारेमा मेरो धारणाले एउटा महिलाले गरिरहेको ब्यावसाय माथी निकै अप्ठयारो पर्न गएछ। मैले फेसबुकमार्फत धारणा सार्बजनिक गरिरहँदा एउटा व्यावसायिक संस्था र त्यस अघि आमनेसामने नभएको र चिनजान पनि नभएका व्यक्ति पार्वत गुरूङ र उनका परिवारको ब्यावसायको सन्दर्भमा उल्लेख भएको विषय प्रति केही प्रष्टीकरण दिन मनासिव ठानिएकोले मेरो फेसबुक साथीहरूलाई तपसिल बमोजिम बुझिदिनु हुन अनुरोध गर्दछु।
१. नेकपा(एमाले) दोलखाको स्थापित नेता पार्वत गुरुङ सञ्चार मन्त्री रहेको वेला र हाल उहाँको गतिविधि र क्रियाकलापको सन्दर्भमा दोलखा जिल्लाकै केही नेता र अन्य व्यक्तिहरूबाट मलाई जति सूचना प्राप्त भयो र मैले त्यही अनुसार लेखेको हुँ, यसमा पछि बहस गरूला, नेताको आलोचना हुनु स्वभाविक हो, मैले बिगत दुई दशक देखि गर्दै आएको छु। यो मेरो पेशा नै हो, यो पत्रकारिताको मुलमर्म पनि हो।
२. जो जहाँबाट सुचना आयो, अहिलेको अप्ठ्यारो राजनीतिक परिस्थितिमा कसैले फाईदा उठाउदै दोलखाको जिल्लागत राजनीतिक छविबाट स्खलित गराउने मनसायले पार्वत गुरुङकाे बिषयमा गलत सूचना दिइयाे भन्ने उनीहरूको कुरा पनि रहेको छ, आम दाेलखावासीकै धेरै खाले फिडब्याक पनि आएकाे छ ।
त्यसै गरी वालुवाटारमा सञ्चालित एउटा व्यवसायिक संस्थामा सेवा लिन र ग्राहकको रूपमा जो कोही पनि पुग्न सक्ने, हुन सक्ने, सन्दर्भमा मैले उल्लेख गर्दा एउटा निजी व्यवसायमा जुन किसिमको अप्ठ्यारो सिर्जना हुन गयो, व्यावसायिक कर्ममा आँच पुग्ने गयो, भाउजू प्रति क्षमायाचना गर्दछु।
तर, मैले उल्लेख गरेको कतिपय सन्दर्भहरू अझ थप सत्य नजिक पुगेमा प्रमाणसहित फेरि उल्लेख गर्नेछु र मेरो कलम डगमगाउने छैन्। यो बिशुद्व महिलाको ब्यावसाय भएकाले म अलि संबेदनशिल भएको हुँ । धन्यवाद ।