सामाजिक सञ्जालले सरकार ढाल्न सक्छ, तर बनाउन जमिनको संगठन चाहिन्छ : उपाध्यक्ष मानन्धर
राम्रो पोष्ट
१ फागुन २०८२, शुक्रवार
दोलखा। लामो समय दोलखामा पत्रकारिता गरेका तथा हाल नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरले बंगलादेशको पछिल्लो निर्वाचन परिणामबारे विश्लेषण गर्दै सामाजिक सञ्जालको लोकप्रियता मात्र पर्याप्त नहुने बताएका छन्।
उनले बंगलादेशको चुनावी परिणामलाई उद्धृत गर्दै आन्दोलन र चुनाव फरक प्रकृतिका प्रक्रिया भएको तर्क गरेका छन्।
उनका अनुसार जुलाई आन्दोलनमा क्जभष्पज ज्बकष्लब विरुद्धको एउटै एजेन्डाले असन्तुष्ट समूहलाई एकताबद्ध गरेको थियो। तर निर्वाचनमा मतदाताले विकास, स्थिरता, रोजगारी र दैनिक जीवनका मुद्दालाई प्राथमिकता दिने भएकाले आन्दोलनको ऊर्जा चुनावी रणनीतिमा रूपान्तरण गर्न नसक्दा नयाँ शक्तिले अपेक्षित सफलता पाउन सकेन।
मानन्धरले सामाजिक सञ्जालको प्रभावलाई पनि सीमित मान्छन्। फेसबुक–ट्विटरजस्ता प्लेटफर्ममा अत्यधिक चर्चा भए पनि गाउँ र मध्यमवर्गीय बस्तीमा परम्परागत दलहरूको संगठन बलियो रहेको उनको भनाइ छ। “भर्चुअल लोकप्रियता भोटमा परिणत हुन जमिनको संगठन अपरिहार्य हुन्छ,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार पुराना दलहरूको संगठनात्मक जालो, अनुभव र संरचनाले मतदातामा विश्वास कायम राखेको देखिन्छ। विद्यार्थी नेतृत्वको दललाई धेरै मतदाताले अनुभवहीन ठानेको हुन सक्ने उनको विश्लेषण छ।
साथै, उनले निर्वाचनमा धाँधलीको आरोप उठेको विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्। प्रशासन र निर्वाचन संयन्त्रमा पुरानै प्रभाव रहेमा नयाँ शक्तिलाई अवसर नदिन खोजिएको आशंका स्वाभाविक हुने उनको धारणा छ।
निष्कर्षमा मानन्धर भन्छन्, “यदि धाँधली प्रमाणित भयो भने त्यो लोकतन्त्रका लागि चिन्ताजनक विषय हो। तर परिणाम जनभावनाको प्रतिनिधित्व हो भने यसले एउटा स्पष्ट सन्देश दिन्छ—सामाजिक सञ्जालले सरकार ढाल्न सक्छ, तर सरकार बनाउन जमिनको संगठन चाहिन्छ।”
भीमेश्वर नगरपालिका–३ निवासी मानन्धरको यो विश्लेषणले आन्दोलन, सामाजिक सञ्जाल र चुनावी यथार्थबीचको सम्बन्धबारे बहस सुरु गरेको छ।

राम्रो पोष्ट