२७ माघ २०८२, मङ्गलवार

भर्खरै

सहकारी ठगी, धरौटी र गोप्य भेट—मिडियाको भूमिकामाथि तरुण नेता चित्रकुमार तामाङको कडा चेतावनी

राम्रो पोष्ट १३ पुष २०८२, आइतवार
सहकारी ठगी, धरौटी र गोप्य भेट—मिडियाको भूमिकामाथि तरुण नेता चित्रकुमार तामाङको कडा चेतावनी

दोलखा — सहकारी ठगी मुद्दामा कसुर बराबर धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भनिएको भेट, त्यससँगै सार्वजनिक भएको ७ बुँदे राजनीतिक सम्झौता तथा प्रधानमन्त्रीको उम्मेदवारी सुनिश्चित गर्ने सहमतिलाई मिडियाले प्रमुख रूपमा प्रस्तुत गरिरहेका बेला यसले नयाँ राजनीतिक तरंग र बहस जन्माएको छ।

यही सन्दर्भमा दोलखाका तरुण नेता  चित्रकुमार तामाङले मिडियाको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै कडा चेतावनी दिएका छन्। तामाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै, “मिडियामा आउने सबै कुरा खास हुँदैनन्। मिडियाले बिना पैसा छाप्दैन। होशियार।” भन्दै सहकारी ठगीजस्तो गम्भीर मुद्दा, धरौटीमा छुट्ने प्रक्रिया र त्यसपछि हुने भनिएका राजनीतिक भेटघाटलाई सनसनीपूर्ण ढंगले प्रस्तुत नगर्न आग्रह गरेका हुन्। शनिबार राति मात्रै रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे राजनीतिक सम्झौता भएको र सोही सम्झौताअनुसार बालेन शाह रास्वपामा प्रवेश गर्दै आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको खबर बाहिरिएपछि राजनीतिक वृत्त थप ततिएको छ।

यही पृष्ठभूमिमा उनीहरूबीच भएको भनिएको भेटलाई ‘गोप्य भेट’ का रूपमा प्रस्तुत गर्दै मिडियामा फरक–फरक व्याख्या र विश्लेषण भइरहेको छ। भीमेश्वर नगरपालिका–३, चरिघ्याङ निवासी चित्रकुमार तामाङ नेपाली कांग्रेसका सक्रिय, होनहार र स्पष्ट वक्ता युवा नेताका रूपमा परिचित छन्।

उनी युवाहरुमाझ लोकप्रिय र पार्टी संगठनमा सक्रिय रहँदै आएका छन् भने जन्मजात कांग्रेस संस्कारमा हुर्किएका प्रतिबद्ध नेताका रूपमा समेत चिनिन्छन्। तामाङको भनाइमा, पुष्टि नभएका भेटघाट, सम्झौता र सत्ता समीकरणलाई बढाइचढाइ प्रस्तुत गर्दा जनमत भ्रमित हुन सक्ने गम्भीर खतरा छ। उनको अभिव्यक्तिले सहकारी ठगीजस्तो संवेदनशील मुद्दा, धरौटीको प्रक्रिया र त्यसपछि हुने भनिएका राजनीतिक संवादलाई मिडियाले कुन उद्देश्य र नियतले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा गम्भीर बहस चर्काएको छ। सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले तामाङको टिप्पणीलाई “सत्य बोल्ने साहसी चेतावनी” को संज्ञा दिएका छन् भने कतिपयले मिडिया र राजनीतिबीचको अदृश्य साँठगाँठमाथि पनि प्रश्न उठाएका छन्।

रवि–बालेनबीचको भनिएको प्रधानमन्त्री केन्द्रित सम्झौता र सहकारी ठगी प्रकरणको पृष्ठभूमिमा चित्रकुमार तामाङको चेतावनीलाई अहिलेको राजनीतिक परिवेशसँग जोडेर हेरिएको छ। राजनीतिक छलफललाई पुष्टि बिना ‘गोप्य भेट’ र ‘सत्ता सम्झौता’ भन्दै सनसनीका रूपमा प्रस्तुत गर्दा लोकतान्त्रिक प्रक्रिया, राजनीतिक नैतिकता र मिडियाको विश्वसनीयतामाथि प्रश्न उठ्ने उनको संकेतलाई धेरैले गम्भीर रूपमा लिएका छन्। रवि र बालेनबीचको संवाद र भनिएको सम्झौताले साँच्चै नयाँ राजनीतिक सहकार्यको अध्याय खोल्ने हो कि शंका र अविश्वासकै घेरामा सीमित रहने हो—यसको उत्तर भने आगामी दिनहरूले नै दिनेछन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट