प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती विजयी

१४ माघ २०८०, आइतवार राम्रो पोष्ट
राम्रो पोष्ट
१४ माघ २०८०, आइतवार

काठमाडौं । लुम्बिनीलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा बागमती प्रदेश विजयी भएको छ ।
टीयू क्रिकेट मौदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको लुम्बिनीले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ६ रन मात्र बनाएको थियो ।
लुम्बिनीका लागि विराट भण्डारीले १३, प्रज्ज्वल थापाले १४, कप्तान सुशान्त थापाले २८ र निर्मल गुरुङले २७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीलाई रोक्न बागमतीका सूर्य तामाङले ६ विकेट लिए । उनी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सूर्यले ९ इनिङ्समा ३० विकेट लिइसकेका छन् । विपीन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले १-१ विकेट हात पारे ।
जवाफमा लुम्बिनी प्रदेशले दिएको १ सय ७ रनको सामान्य लक्ष्य बागमतीले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।
बागमतीका लागि इशान पाण्डे र आशुतोश घिरैयाले ३१ रनको ओपनिङ साझेदारी गरे । आशुतोश १४ रन बनाएर बाहिरिए । कप्तान रित गौतमले २४ रन जोडे । इशान ५४ बलमा ५ चौका र २ छक्का सहित ५० रन बनाएर निर्मल गुरुङको बलमा क्याच आउट भए । रविन जोशी ७ रनमा अविजित रहे । लुम्बिनीका लागी निर्मलले २ तथा कृष्ण कार्की र अभिषेक गौतमले १-१ विकेट लिए ।
यो जितसँगै बागमतीले ९ खेलमा १२ अंक जोड्दै लिग चरण समाप्त गरेको छ । तालिकाको दोस्रो स्थानमा रहेको उसले फाइनलमा स्थान बनाउने वा नबनाउने भन्ने अन्य खेलको नतिजापछि टुंगो लाग्नेछ ।