हराएको 'मानवता' लाई पनि RIP भन्दै दीप प्रज्वलन गरि विश्वराजलाई श्रद्धाञ्जली



चरिकोट । सवारी दुर्घटनामा मृत्यु भएका विश्वराज श्रेष्ठको आत्मा शान्तिको कामना गर्दै दीप प्रज्जवलन गरेका छन्।
श्रेष्ठले अध्ययन गरेको विद्यालय द-राईजिङ स्टार स्कुलको अगुवाइमा दोलखा सदरमुकाम चरिकोटमा बिहिबार साँझ दीप प्रज्ज्वलन गरेका हुन् ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, पूर्व विद्यार्थी, आफन्त, शुभचिन्तक लगायतले चरिकोट स्थित सातदोबाटो चोकमा मैनदीप प्रज्ज्वलन गरी श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरेको नेविसंघ दोलखाका अध्यक्ष सौगात थापाले बताए ।
दुर्घटना स्थलमा मानवता नदेखिएकै कारण विश्वराजको मृत्यु भएको भन्दै मानवतालाई समेत श्रद्धाञ्जली (RIP) दिएका छन्। दुर्घटनाका बखत अन्य कुरा भन्दा घाइतेको उद्धार र उपचारका लागि पहल नगरिएको भन्दै प्रहरी भन्दा पहिले एम्बुलेन्स (Ambulance Before Police) लेखिएको ब्यानर समेत राखेका थिए।
दोलखा वैतेश्वर गाउँपालिका वडा नम्बर -७ स्थायी घर भएका मृतक श्रेष्ठले चरिकोट स्थित द राइजिङ स्टार स्कुलबाट २०७४ सालमा एसईई उत्तीर्ण गरेका थिए।
उच्च शिक्षा अध्ययनका लागि युरोप जाने तयारीका साथ कागजात लिएर चरिकोटबाट मोटरसाइकलमा काठमाण्डौ जाँदै गरेका श्रेष्ठको सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका– ७ स्थित १६ किलोमा बससंग ठोक्किँदा मृत्युु भएको थियो।
बा ३ ख ५३०८ नम्बरको यात्रुबाहक बसले श्रेष्ठ सवार बागमती प्रदेश ३-०२-०१३ प ३५८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर गम्भिर घाइते भएका श्रेष्ठको समयमै उद्धार हुन नसक्दा उपचारको अभावमा ज्यान गएको समाचार सबैभन्दा पहिले राम्रो पोष्ट मिडियामा "मानवता हराएको" शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
घाइते अवस्थामा रक्ताम्य भएर सडकमा रहेका श्रेष्ठले छिटो भन्दा छिटो आफ्नो उद्धारको याचना गरिरहेका थिए। तर ठक्कर दिने बसका यात्रु र अन्य प्रत्यक्षदर्शी उद्धारको सट्टा फोटो र भिडियो खिच्न व्यस्त हुँदा घाइतेको रगत धेरै बगेको थियो।
प्रहरी समेत ढिलो पुग्दा उद्धारमा ढिलाई हुन गई उपचार नपाएरै श्रेष्ठको भएको भन्दै सामाजिक सञ्जालमार्फत समेत मानवता हराउँदै गएको भन्दै धेरैले असन्तुष्टि जनाएका थिए।
दुर्घटनामा परी गम्भीर घाइते श्रेष्ठलाई घटनास्थलबाट ढिला उद्धार गरी उपचारका लागि बीएन्डबी अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।