टोकियोमा हर्षोल्लासका साथ मनाइयो ग्याल्पो ल्होसार



टोकियो। प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ जापानमा हिमाली बौद्ध धर्मावलम्बीहरूको महान चाड ग्याल्पो ल्होसार अर्षोल्लासका साथ मानाइएको छ।
मार्च २ तारिख आइतबार टोकियोमा विविध कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाएको हो ।
नेपाल शेर्पा संघ जापानले आयोजना गरेको ल्होछार कार्यक्रमको नेपालबाट आमन्त्रित धर्मगुरु खेन्पो ङावाङ छेपाल शेर्पा र जापानमै रहनुभएका धर्मगुरु दोर्जी शेर्पा लामाले पूजापाठ गरी सुभारम्भ गर्नुभएको नेपाल शेर्पा संघ जापानका अध्यक्ष सोनाम लामाले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले ल्होछारको शुभकामना व्यक्त गर्दै भन्नुभयो ‘ग्याल्पो ल्होसार शेर्पा समुदायको मात्र नभई सबै नेपालीहरूको साझा राष्ट्रिय पर्व हो।’
विविधताबीचको एकता नै नेपालीहरूको सम्पदा भएको बताउँदै उहाँले राजनीतिक र धार्मिक रूपमा आस्था फरक भए पनि शेर्पाहरुको एकता सहित नेपालीहरुको एकता बचाइराख्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष नविन निउरे, नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा, शेर्पा संघ जापानका संरक्षक तथा शेर्पा युगेन हिकारीका म्यानेजिङ डाइरेक्टर निमा लामा लगाएले शुभकामना मनतव्य राख्नुभएको थियो।
शेर्पा कलाकारहरू आङ छिमी शेर्पा, याङ्जी शेर्पा, डोल्मा शेर्पा, छिमी शेर्पा, फुल्हमु शेर्पा र आङ फुरी शेर्पाले ल्होसार गीतमा अतिथिहरुलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकार लमु शेर्पा, स्थानीय कलाकार सोनाम काहनी, दावा के शेर्पा र डीजे नबिनको प्रस्तुतिले थप रौनकता छाएको थियो।
शेर्पा संघ जापान केन्द्र र किताकान्तो क्षेत्रका शेर्पा कलाकारहरूले छुट्टाछुट्टै रूपमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि र धर्मगुरु खेन्पो ङावाङ छेपाल शेर्पालाई मायाको चिनो र प्रशंसापत्र प्रदान गर्नुभएको थियो। त्यसैगरि सहयोगी तथा कलाकारहरूलाई समेत मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।