कमला बस्नेतको संयोजकत्वमा उपमेयर्स फोरम गठन

२७ माघ २०८०, शनिवार रविता महत
रविता महत
२७ माघ २०८०, शनिवार

चरिकोट । दोलखा जिल्लाका स्थानीय तहका उप-प्रमुख तथा उपाध्यक्षहरुको एक कार्यक्रममा ९ सदस्यीय उपमेयर्स फोरम गठन गरेको छ ।
भीमेश्वर नगरपालिकामा शुक्रबार सम्पन्न जिल्ला स्तरीय अनुभव तथा सिकाइ आदानप्रदानमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतको संयोजकत्वमा ९ पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहने गरी फोरम गठन गरेको हो।
उपप्रमुख तथा उपाध्यक्षहरुले पालिकामा सम्पादन गर्ने कामहरुको अनुभव आदान प्रदान गर्न, पालिकाहरुसँग आवश्यक सहजीकरण गर्नका लागि भेलाले फोरम गठन गरेको हो ।
भेलाले हरेक दुइ महिनामा अनुभव आदान प्रदान कार्यक्रम गर्ने र आगामी कार्यक्रम फाल्गुनमा नै गर्ने समेत निणर्य गरेको छ ।
‘न्यायिक सम्पादन, राजश्व संकलन, संघसंस्था समन्वय, अनुगमन जस्ता कामहरु गर्दै आइरहेकोमा अन्य पालिकाबाट केही अनुभवहरु बटुल्न सहज होस् भन्नका लागि हामी संगठित भएका हौं भीमेश्वर नगरपालिका उपप्रमुख बस्नेतले भनिन ‘आफ्ना क्षेत्राधिकारका बारेमा संगठित रुपमा कसरी राम्रो गर्न सकिन्छ ? एकअर्कालाई रचनात्मक सहयोग कसरी गर्न सकिन्छ ? भनेर केही नयाँ सिक्ने र आफूले जानेका कुराहरु सिकाउनका लागि संगठित रुपमा पहल गर्ने हाम्रो उद्देश्य हो ।
न्यायीक समितीको जिल्लास्तरीय अनुभव आदानप्रदान कार्यक्रममा रिनोभेशन नेपालका कार्यकारी निर्देशक रामबाबु नेपालले न्यायीक समिती सुचना व्यवस्थापन प्रणालीको प्रयोग र यसको प्रभावकारीका बारेमा प्रस्तुती गरेका थिए । सुचना व्यवस्थापन प्रणालीको प्रयोगले न्यायीक समितीलाइ प्रकृयागत रूपमा सहयोग पुग्नुका साथै कानुनी ढाँचाहरूमा लिखत तयार गर्न न्यायीक समितीलाइ सहयोग पुग्ने कुरा बताएका थिए ।
उपमेयर्स फोरम गठन भएपश्चात पालिकाहरूको आपसी सिकाइ आदानप्रदान र बिषयगत समितीका भुमिका तथा जिम्मेवारीमा एकरूपता ल्याउनका लागि सहयोग हुने कुरा द एसिया फाउण्डेशनका बागमती प्रदेश संयोजक उद्धब प्रसाद अधिकारीले बताए ।
कार्यक्रममा न्यीयीक समितीको सिकाइ, अभ्यास र आगामी दिनका लागि सुझाव संकलन गर्न आएका व्दन्व्द बिश्लेषक डा. बिष्णु उप्रेतीले संघियतामा न्यायीक समिती नयाँ अभ्यास भएको बताएका छन् । रूआण्डामा भएको व्दन्व्द व्यवस्थापनको समेत अध्ययान गरेका उप्रेतीले स्थानीय न्यायीक समिती व्यवस्थीत गराउनु पर्नेमा जोड दिए । भीमेश्वर नगरपालिकाले अभ्यास गरिरहेको न्यायीक समिती सुचना व्यवस्थापन प्रणालीले न्यायीक समितीलाइ मात्र सहयोग पुगेको छैन बरू यस्तो टुल्सले संघियता सफल बनाउन समेत मद्दत पुगेको तर्क अगाडी सारेका थिए ।
भीमेश्वर नगरपालिकाका नगरप्रमुख इश्वर नारायण मानन्धरले उपमेयर्स फोरमलाइ शुभकामना प्रदान गर्नुभएको थियो ।