नक्कली सिओई काण्डको समाचार बनाएपछि पत्रकार गौतमलाई भौतिक आक्रमणको धम्कीः महासंघको जापान शाखाले गरायो ध्यानाकर्षण

१३ फागुन २०८१, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
१३ फागुन २०८१, मङ्गलवार

टोकियो। नक्कली सिओई बनाएर जापान मान्छे पठाउने समाचारलाई लिएर पत्रकारमाथि गालीगलौज र भौतिक आक्रमणको धम्की दिएको प्रति प्रत्रकार महासंघ जापान शाखाको ध्यानाकर्षण भएको छ।

महासंघको जापान शाखाले मंगलबार एक विज्ञप्ति जारी गर्दै क्योउदाई न्युजका प्रधान सम्पादक दीपक गौतमलाई समाचारको विषयलाई लिएर धम्की दिइएकोमा महासंघको ध्यानाकर्षण भएको बताएको हो।

क्योउदाइ न्युजमा प्रकाशित, केबीएल इन्टरनेशनलले नक्कली सिओइ बनाई जापान मान्छे पठाउने गरेको विषयको समाचारलाई लिएर कम्पनीका अध्यक्ष कुमार कार्कीले पत्रकार गौतमलाई,फेब्रुअरी २४ तारिखमा सामाजिक संजाल लाईन मार्फत भ्वाईस म्यासेज पठाइ गालीगलौज तथा भौतिक आक्रमण गर्ने धम्की दिएको बताइएको छ ।

समाचारप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने विकल्पलाई बेवास्ता गर्दै पत्रकारलाई आक्रमणको ठाडो चुनौती दिनु अत्यन्त निन्दनीय रहेको महासंघको विज्ञप्तिमा उल्लेख छ।

यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधान विपरीतको कार्य भएको र यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको विज्ञप्तिमा भनिएको छ।

महासंघ जापान शाखाका सचिव राजन गौतमको हस्तक्षर रहेको विज्ञप्तिमाफर्त यस्ता कार्यमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई निर्वाध र निर्भीकतापूर्वक संचारकर्म गर्ने वातावरण बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

दिपक गौतम नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकार समेत हुन्। उनि लामो समयदेखि पत्रकारितामा सकृय छन्।

 

.