फोहोरलाई मोहोरमा बदल्दै भीमेश्वर नगर, भित्रियो अत्याधुनिक यन्त्र–उपकरण

२० असार २०८०, बुधवार राम्रो पोष्ट
राम्रो पोष्ट
२० असार २०८०, बुधवार

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिकाले प्लास्टिक, सिसा र हड्डीजन्य फोहोर व्यवस्थापन गर्ने यन्त्र तथा उपकरण भित्र्याएको छ ।

फोहोरजन्य बस्तुलाई उचित तरिकाले व्यवस्थापन गर्दै फोहोरलाई मोहरमा बदल्ने उद्देश्यका साथ नगरपालिकाले थप ४ वटा उपकरण भित्र्याएको हो। ३ वटा भने यसअघि नै ल्याइसकेको भीमेश्वर नगरपालिकाका मेयर इश्वर मानन्धरले बताए । यन्त्रलाई भीमेश्वर नगरपालिका वडा नम्बर –६ स्थित सरसफाइ केन्द्रमा राखिएको छ । यन्त्र तथा उपकरणले प्लास्टिक सफा गर्ने, सिसाको बोतल, हड्डी पिस्ने र प्लास्टिकका बोतल क्रसिंग गर्नेछ। यस्ता फोहोरको व्यवस्थापन हुन नसक्दा यसअघि नगरपालिकालाई सरसफाइमा चुनौती थियो । करिब ८० लाखको लागतमा नकुहिने फोहोरहरुको व्यबस्थापन गर्ने उपकरणहरु ल्याएसंगै नगरपालिका भित्रका सबै प्रकारका फोहोरहरुको व्यवस्थापन हुने विश्वास गरिएको छ। यस्ले ‘स्वच्छ भिमेश्वर, सफा भिमेश्वर ‘अभियानमा टेवा पुग्ने मेयर मानन्धरले बताए। ‘अब प्लास्टिक तथा हड्डीजन्य पदार्थहरु पुनः प्रयोग गर्न मिल्नेगरि प्रसोधन हुन्छ र सीसाको धुलो भारत निकास गर्ने काम हुन्छ’ उनले भने, ‘नगरप्रमुखको कुर्सीमा बस्दाको दिनदेखिनै नगरपालिका भित्रको नकुहिने फोहोर व्यवस्थापन चुनौती बनेको र अहिले उक्त समस्यालाई समाधान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’

यसअघि नकुहीने फोहोर भिर, जंगलमा लगेर फ्याल्नुपर्ने समस्या रहेकोमा अब त्यो हट्ने उनले बताए । भारतबाट ल्याएका उक्त यन्त्र–उपकरण एक हप्तापछि सबै सञ्चालनमा आउनेछ । ९ वडा रहेको भीमेश्वर नगरपालिकामा वडा नम्बर–३ र ६ मा चरिकोट बजार र वडा नम्बर–२ को दोलखा बजार लगाएतबाट सबैभन्दा बढि प्लास्टिक, सिसा, हड्डी र प्लास्टिक बोतलजन्य फोहोर निस्कन्छ। अबदेखि यी बजारमा बसोबास गर्ने नागरिक र सबै प्रकारका व्यवसायीलाई फोहोर छुट्याएर राख्न समेत नगर प्रमुख मानन्धरले आग्रह गरे ।