‘दोलखा महोत्सव’ १ लाख भन्दा बढिले अवलोकन गरे, पाँच करोड बढिको कारोबार

२४ पुष २०८०, मङ्गलवार राम्रो पोष्ट
राम्रो पोष्ट
२४ पुष २०८०, मङ्गलवार

चरिकोट । ‘दोलखा महोत्सवको दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि’ भन्ने नाराका सुरु भएको दोलखा महोत्सव एक लाख भन्दा बढिले अवलोकन गरेका छन् भने पाँच करोड बढिको कारोबार भएको छ ।
दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ देखि २४ गतेसम्म चलेको महोत्सवमा दोलखाका स्थानीय, राजधानी काठमाडौं र छिमेकी जिल्लाबाट समेत अवलोकनकर्ताहरु आएसंगै महोत्सवले फाइदा गर्न सफल भएको हो ।
महोत्सव अवधिभर दोलखाका होटल, पसल तथा अन्य व्यवसायहरुमा राम्रो ब्यापार भएकोले ५ करोड भन्दा माथिको कारोबार भएको दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले बताए ।
एक लाख भन्दा बढिले अवलोकन गरेको महोत्सवमा टिकटबाट मात्रै करिब २८ लाख रुपैया उठेको छ ।
त्यसैगरी महोत्सवको स्टल, स्थानीय तह र व्यापारिक साझेदारी संस्थाहरुबाट आउने रकमले महोत्सवको अनुमानित खर्च एक करोड एक लाख रुपियाँ कटाएर पनि फाइदा भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सव १० दिनको लागि भनेर सञ्चालन गरेको भए तापनि अवलोकनकर्ताहरु धेरै आउन थालेपछि २ दिन थप गरिएको थियो।
१२ दिनसम्म चलेको महोत्सवमा ६० भन्दा बढि राष्ट्रिय स्तरका चर्चित कलाकारहरुको प्रस्तुति राखिएको थियो भने स्थानीय कालाकारहरुले पनि बेजोड प्रस्तुति दिएका थिए।
हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिले महोत्सवलाई आकर्षक बनाएको थियो । अन्य समयमा भन्दा सांस्कृतिक कार्यक्रमको समयमा भने दर्शकको संख्या उल्लेख्य रहन्थ्यो । बजारबाट नजिकै रहेकाले कार्यालय समय सकिएपछि साँझतिर महोत्सव स्थलमा दर्शकको भीड हुने गरेको दोलखा उद्योग बाणिज्य संघका कोषाध्यक्ष तथा महोत्सवका आर्थिक विभाग प्रमुख श्याम कायस्थले बताए ।
दोलखाको प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदादेखि दोलखाको उत्पादनलाई प्रवद्र्धन गर्दै दोलखाको आर्थिक पाटोलाई मजबुत बनाउने उदेश्यले सञ्चालित महोत्सवमा १ सय ५० वटा स्टलको व्यवस्था गरेको उनले जानकारी दिए ।
जहाँ जिल्लामा उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, विक्री, वितरण घरेलु उत्पादनका साथसाथै स्थानीय उत्पादनका स्टल राखिएको थियो । स्टल स्थलमा पनि सामन किन्न आउनेहरुको उत्तिकै भिड थियो भने महोत्सव अवधिभर सामान किन्ने, प्रदर्शनमा राखिएका ऐतिहासिक वस्तुहरुको फोटो खिच्नेहरुको भिड अधिक थियो।
दोलखाको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक, पर्यटकीय स्थलको प्रचारप्रसार, घरेलु तथा कुटिर उद्योग प्रवद्र्धन, कला संस्कृतिको संरक्षणमा महोत्सवले टेवा र्पुयाउनेमा अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे।
महोत्सव अवधिभर दोलखालाई झल्काउने फोटो प्रदर्शनी धार्मिक तथा ऐतिहासिक स्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, कृषि तथा उत्पादनको प्रदर्शनी तथा विक्री राखिएको थियो।
त्यसैगरी दोलखाली उत्पादनबाट बनेको खाजा र खानाको परिकार पनि महोत्सवमा आउने पाहुनाहरुको रोजाइमा परेको थियो।
महोत्सव अवधिमा बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, जिल्ला स्तरीय ब्यामिन्टन प्रतियोगिता, निशुल्क स्वास्थ शिविर, रक्तदान कार्यक्रम र आगलागी सम्बन्धि जनचेतनामूलक डेमो प्रस्तुत गरेको आयोजकले बताए।