साउदीमा कडाइः एक सातामै १२ हजार ३६३ आप्रवासी देशनिकाला, कानुन नमान्नेलाई १५ वर्ष जेल!
राम्रो पोष्ट
२१ भदौ २०८३, आइतवार
रियाद — साउदी अरबले गैरकानुनी रूपमा बसोबास तथा काम गर्ने आप्रवासीमाथि कडाइ बढाएको छ। पछिल्लो एक सातामा मात्रै १२ हजार ३६३ जना अवैध आप्रवासीलाई देशनिकाला गरिएको साउदी गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार अगस्ट २७ देखि सेप्टेम्बर २ सम्म गरिएको संयुक्त सुरक्षा कारबाहीका क्रममा १४ हजार १६५ जना गैरकानुनी बसोबासकर्तालाई पक्राउ गरिएको थियो।
पक्राउ पर्नेमा ७ हजार १२१ जना आवाससम्बन्धी कानुन उल्लंघन गर्ने, ३ हजार ६३६ जना सीमा सुरक्षा कानुन उल्लंघन गर्ने र ३ हजार ४०८ जना श्रम कानुन उल्लंघन गर्ने रहेका छन्।
यस अवधिमा साउदी प्रवेश गर्न खोज्ने १ हजार ३१५ जना पनि पक्राउ परेका छन्। उनीहरूमध्ये ४१ प्रतिशत यमनी, ५८ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य देशका नागरिक रहेको मन्त्रालयले जनाएको छ।
अवैध आप्रवासीलाई यातायात, आश्रय वा रोजगारी उपलब्ध गराउने व्यक्तिमाथि पनि कडा कारबाही हुने साउदी सरकारले चेतावनी दिएको छ। त्यस्ता कार्यमा संलग्नलाई १५ वर्षसम्म कैद र १० लाख साउदी रियालसम्म जरिवाना हुन सक्नेछ।
साथै, अवैध आप्रवासी ओसारपसारमा प्रयोग भएका सवारीसाधन तथा उनीहरूलाई आश्रय दिन प्रयोग भएका घरसमेत जफत गर्न सकिने मन्त्रालयले जनाएको छ।
साउदी गृह मन्त्रालयले विदेशी नागरिकसहित सबैलाई देशको आवास, सीमा सुरक्षा र श्रमसम्बन्धी कानुन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

राम्रो पोष्ट