फिलिपिन्सको विद्यालयमा गोलीकाण्डः ३ जनाको मृत्यु, ९ जना घाइते; आरोपी विद्यार्थीले घटनाको लाइभ प्रसारण गरेको आरोप
राम्रो पोष्ट
४ भदौ २०८३, बिहिवार
फिलिपिन्स । फिलिपिन्सको दक्षिणी क्षेत्रमा रहेको एक निजी उच्च माध्यमिक विद्यालयमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
फिलिपिन्सका स्थानीय सञ्चारमाध्यमका अनुसार सोमबार दक्षिणी फिलिपिन्सको जाम्बोआङ्गा क्षेत्रस्थित एक निजी हाईस्कुलमा गोलीकाण्ड भएको हो।
घटनामा एक विद्यार्थी र दुई जना सुरक्षा गार्डको मृत्यु भएको बताइएको छ। घाइते भएका नौ जनालाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति सोही विद्यालयमा अध्ययनरत पहिलो वर्षका विद्यार्थी भएको आशंका गरिएको छ। उनले घटनापछि आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक जानकारी सार्वजनिक भएको छ।
घटनाका क्रममा आरोपी विद्यार्थी कक्षामा प्रवेश गरी जथाभावी गोली चलाएको र उक्त घटनाको केही दृश्य सामाजिक सञ्जालमार्फत लाइभ प्रसारणसमेत गरेको बताइएको छ।
स्थानीय सुरक्षा निकायले घटनाको कारण र आरोपीको उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको छ।

राम्रो पोष्ट