सहकारीको उत्कृष्ट व्यवस्थापकको रुपमा मनकुमार श्रेष्ठ सम्मानित

२७ पुष २०८१, शनिवार राम्रो पोष्ट
राम्रो पोष्ट
२७ पुष २०८१, शनिवार

चरिकोट। दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघले मनकुमार श्रेष्ठ (विपिन)लाई उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट सम्मान गरेको छ।

शुक्रबार संघको २६ औं साधारणसभा  तथा २९ औं स्थापना दिवस अवसरमा श्रेष्ठलाई सम्मान गरेको हो।

उनलाई बागमती प्रदेशसभाका सांसद भरतवहादुर केसीले नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो।

सम्मानले आफूलाई थप जिम्मेवारी बढाएको व्यवस्थापक श्रेष्ठले बताए ।

भीमेश्वर नगरपालिका वडा नम्बर–३ पुरानो बजार निवासी श्रेष्ठ दोलखा चरिकोट स्थित अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक हुन्।

२०६९ सालबाट सञ्चालनमा आएको सो सहकारी संस्थामा श्रेष्ठ २०७० सालबाट कार्यरत छन्।

साधारणसभा तथा स्थापना दिवसको अवसरमा सहकारी क्षेत्रका अभियान्ता तथा बिभिन्न सहकारी संस्था र सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको छ। 

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष पुस्करकुमार दहाललाई उत्कृष्ट सहकारी अभियान्ताको रुपमा सम्मान गरिएको दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष भूमिराज खड्काले जानकारी दिए । 

उनका अनुसार उत्कृष्ट सञ्चारकर्मीमा पत्रकार सृजना गोले सम्मानित भएकी छिन् । पत्रकार गोले नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाको कोषाध्यक्ष हुन् ।

उत्कृष्ट सहकारीको रुपमा हाम्रो तामाकोशी साकोस जिल्लाकै उत्कृष्ट सहकारी भएको छ। 

दोलखा जिल्ला वचत संघमा आवद्ध रहेका जिल्लाका एक सय ५९ वटा संस्थाहरु मध्ये तामाकोशी साकोस उत्कृष्ट भएको हो ।

त्यसैगरि चरिकोट स्थित मिलिजुली कालिञ्चोक साकोस उत्कृष्ट लगानी गर्ने संस्था भएको छ भने तामाकोशी गाउँपालिका–३ स्थित जनश्रमिक साकोस उत्कृष्ट कारोवार गर्ने संस्था भएको छ। 

उत्कृष्ट सेवा उपयोग गर्ने संस्थाको रुपमा भीमेश्वर नगरपालिका–६ स्थित परोपकार महिला साकोस सम्मानित भएको छ ।

 

.