४० वर्षे लिचीको बोटमा १ हजार किलो बढि लिची फल्योः डेढ लाख भन्दा बढि आम्दानी
चरिकोट। लिची देख्ने बित्तीकै हामी सबैको मुख रसाउने र खाइहालौँ जस्तो लाग्ने गर्छ। लिची बालबालिकादेखि वृद्धासम्म हरेकलाई मन पर्ने मौसमी फलफूलमध्येको एक हो । यसै कुरालाई मनन् गरि भीमेश्वर नगरपालिका वडा नं ७ कुप्रीमा व्यावसायिक रुपमा लिची उत्पादन थालिएको छ । यस अघि बगैँचामा फलेका लिची आफन्त र छिमेकीलाई कोसेली दिएर सकाए पनि हाल यस्लाई व्यवसायीक बनाएर आर्थिक उपार्जन गर्न थालेको हो। करिब ४० बर्ष अघि रोपेको एक बोटबाट १ हजार किलोभन्दा बढी लिची उत्पादन भएको भीमेश्वर –७ कुप्रीका चन्द्र बहादुर बुुढाथोकीले बताए । जसमा हालसम्म सय किलो भन्दा बढि विक्रि भइसकेको छ भने बाकिलाई व्यापारीलाई सम्पर्क गरि विक्रि गर्ने काम भइरहेको बुढाथोकीले बताए । लिचीबाट राम्रो आम्दानी हुन थालेपछि क्षिमेकीहरु पनि लिची बिरुवा आफै उत्पादन गरेर लिची खेतीमा लागेका छन्। लिची खेती गर्न सके जीवन स्तरमा सुधार हुने आसामा आफू लिची खेतीमा लागेको स्थानिय राजेश बुढाथोकीले बताए । कम मिहेनतमा सजिलै आम्दानी दिने भएपछि लिची खेतीले स्थानीय युवाहरुलाई कृषि व्यवसायमा लाग्न प्रेरित गरेको बताए। दोलखामा उत्पादित लिची अन्य ठाउँबाट आएको भन्दा राम्रो भएकाले यस्को बजार दिनप्रतिदिन बढ्दै गएको छ। व्यवसायिक रुपमा लिची उत्पादन गरेर भीमेश्वर नगरको वडा नम्वर–७ कप्रीलाई लिची पकेट श्रेत्रको रुपम स्थापित गर्नका लागि वडा लागि पर्ने वडाध्यक्ष विनोद तमाङले बताए । वडाले कृषी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छ । वडाको भेग र भूगोल हेरेर कृषिको व्यवसायिकरण गर्न आफु प्रतिबद्द रहेको वडाध्यक्ष तमाङले बताए । लिची भिटामिन सी तथा पोटासियमको महत्त्वपूर्ण स्रोत हो। साथै लिचिमा फलाम, क्याल्सियम, फस्फोरस जस्ता तत्त्व प्रशस्त मात्रामा पाइने चिकित्सकको भनाइ छ। लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ। लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम हुन्छ जुन शरीरको विकासका लागि फाइदाजनक मानिन्छ। लिचीमा प्रशस्त मात्रामा पानी पाइन्छ, त्यसैले यसले यो गर्मी मौसममा शरीरलाई चिसो र हाइड्रेट राख्न मद्दत गर्छ। महिलामा हुने स्तन क्यान्सरबाट बच्न लिचीको सेवन लाभदायक मानिन्छ।