टोकियोमा हुने ‘नेपाल फेस्टिभल’को तयारी अन्तिम चरणमा, सभ्य र भव्य हुँने
टोकियो। जापानको टोकियोमा हुँन लागेको १४औँ नेपाल फेस्टिभल–२०२४को तयारी अन्तिम चरणमा पुगेको छ। एनआरएनए जापानले आईतबार जुममार्फत पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो।
नेपाल फेस्टिभलका लागि जापानमा रहेका सबै तह र तप्काका नेपालीहरुबाट साथ सहयोग पाइरहेकोले तयारी तिब्र रुपमा अघि बढेको एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले जानकारी दिए।
फेस्टिभलमा स्टलहरुको बुकिङ, झाँकी तथा सांस्कृतिक प्रदर्शनीको तयारी, स्वयंसेवकहरुको व्यवस्थापनदेखि सहयोगीहरुबाट आर्थिक सहयोग समेत जुटिरहेको छ।
त्यसैगरि कार्यक्रमलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न विभिन्न समिति र उप-समितिहरु निर्माण गरि जिम्मेवारी दिइएको अध्यक्ष निउरेले बताए।
धार्मीक,सांस्कृति र प्राकृतिक रुपले भरिपूर्ण नेपालमा पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ आगामी नोभेम्बर ३० तारिख शनिबार र डिसेम्बर १ तारिख आईतबार नेपाल फेस्टिभल हुँदै छ।
टोकियो स्थित नाकानो सिकिनोमोरी पार्कमा हुँने फेस्टिभलमा विशेषगरि नेपालको धार्मिक तथा सांस्कृति सम्पदाहरुको प्रर्दशर्नी गर्नुका साथै नेपाली उत्पादनको प्रवर्द्धन गर्ने एनआरएनए जापानका उपाध्यक्ष एवं झाँकी तथा सांस्कृति विभागको संयोजक सिद्धार्थ श्रेष्ठले बताए।
फेस्टिभल गैर आवासीय नेपाली संघ (एनआरएनए) रष्ट्रिय समन्वय परिषद जापान, जापानका लागि नेपाली राजदूतावास टोकियो, जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा हुँदैछ।
नेपालको धर्म,संस्कृति र रहनसहनलाई प्रवासमा संरक्षण र सम्बर्द्धन गर्नका निम्ति फेस्टिभलको महत्पुर्ण भुमिका रहने बताइएको छ। फेस्टिभल मार्फत नेपाल हाउस निर्माणको लागि विशेष सहयोग पुग्ने अपेक्षा गरिएको छ।