September 26, 2026

भर्खरै

दोलखा कांग्रेस प्रदेशसभा ‘ख’ को क्षेत्रीय सभापतिमा चित्र कुमार तामाङको उम्मेदवारी

राम्रो पोष्ट ९ असोज २०८३, शुक्रवार
दोलखा कांग्रेस प्रदेशसभा ‘ख’ को क्षेत्रीय सभापतिमा चित्र कुमार तामाङको उम्मेदवारी

दोलखा । नेपाली कांग्रेस दोलखा प्रदेशसभा ‘ख’ को क्षेत्रीय सभापति पदका लागि चित्र कुमार तामाङले उम्मेदवारी घोषणा गरेका छन्। 
तामाङले आफ्नो उम्मेदवारीलाई व्यक्तिगतभन्दा पनि पार्टी रूपान्तरण, युवाको नेतृत्व र संगठनभित्र नयाँ पुस्तालाई अवसर दिने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
नेपाल तरुण दल दोलखामा लामो समय सक्रिय रहेका तामाङले यसअघि तरुण दल दोलखाको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालेर काम गरिसकेका छन्। 
उनले तरुण दल दोलखाका उपाध्यक्षका रूपमा समेत काम गरिसकेका छन्।
उम्मेदवारी घोषणा गर्दै तामाङले भनेका छन्, “यो उम्मेदवारी मेरो व्यक्तिगत उम्मेदवारी होइन। यो पार्टी रूपान्तरणको उम्मेदवारी हो, युवाका लागि हो, विपक्षको पैसाको चलखेल रोक्नका निम्ति हो। अवसरवादीहरूलाई पाखा लगाउन र हाम्रोलाई होइन, राम्रोको निम्ति हो।”
उनले पार्टी रूपान्तरण भनेको केवल अनुहार फेर्नु नभई प्रवृत्ति फेर्नु भएको बताएका छन्।
तामाङले कांग्रेसभित्र नेतृत्व विकासको शैलीसमेत परिवर्तन गर्नुपर्ने धारणा राख्दै भनेका छन्, “पहिला कांग्रेसभित्र नेता जन्मिन्थे, अब कार्यकर्ता जन्मिन्छन्। पहिला टिकट माथिबाट आउँथ्यो, अब टिकट तलबाट आउँछ।”
आफू मतदातासामु केवल आश्वासन बाँड्न नभई काम गर्ने प्रतिबद्धतासहित सम्झौता गर्न आएको बताउँदै तामाङले क्षेत्रलाई रूपान्तरण गरेर देखाउने दाबी गरेका छन्।
उनले भनेका छन्, “म तपाईंलाई आश्वासन दिन आएको होइन, म तपाईंसँग एउटा सम्झौता गर्न आएको हुँ। यो क्षेत्रलाई रूपान्तरण गरेर देखाउँछु।”
कांग्रेसको चुनाव चिह्न ‘रुख’लाई नयाँ पुस्ताको प्रतीकका रूपमा व्याख्या गर्दै तामाङले “रुखको अर्थ अब बुढो रुख होइन, नयाँ पालुवा हो” भनेका छन्।
तरुण दलमा संगठनात्मक जिम्मेवारी सम्हाल्दै आएको अनुभवलाई प्रदेशसभा क्षेत्रको संगठन निर्माणमा उपयोग गर्ने बताउँदै उनले युवा सहभागिता, आन्तरिक लोकतन्त्र, संगठन सुदृढीकरण र योग्य कार्यकर्तालाई अवसर दिने विषयलाई आफ्नो अभियानको प्रमुख आधार बनाएका छन्।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट