'समृद्धि' एमालेको विजयबाट मात्र सम्भव – पार्वत गुरुङ
राम्रो पोष्ट
२३ माघ २०८२, शुक्रवार
दोलखा । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दोलखाबाट उम्मेदवार पार्वत गुरुङ ले दोलखासहित समग्र मुलुकको दिगो समृद्धि एमालेको विजयबाट मात्र सम्भव हुने स्पष्ट पारेका छन्।
नेकपा एमाले भीमेश्वर नगरकमिटीले सदरमुकाम चरिकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व सञ्चार मन्त्रीसमेत रहेका गुरुङले दोलखाको योजनाबद्ध विकासको सुरुवात एमाले नेतृत्वमै भएको दाबी गरे। उनले आफू सहभागी रहेको लाल कुमार केसी नेतृत्वको तत्कालीन जिल्ला विकास समितिले तयार पारेको रिङरोडसहितको विकास योजनाले जिल्लाको भविष्यको खाका कोरेको बताए।
गुरुङका अनुसार एमाले नेतृत्वमा रिङरोडसँगै कृषि, शिक्षा, स्वास्थ्य, जलस्रोत र पर्यटन क्षेत्रको समग्र मास्टर प्लान निर्माण गरियो, जसकै जगमा आज दोलखाको विकास अघि बढिरहेको छ।
“म सामान्य कार्यकर्ताबाट जिल्ला विकास समितिको सदस्य, पार्टी अध्यक्ष, सांसद र मन्त्री हुँदै यहाँसम्म आइपुगेँ,” उनले भने, “हरेक जिम्मेवारीमा जिल्लाको विकास र समृद्धिलाई पहिलो प्राथमिकता दिएँ।”
उनले कतिपय महत्वपूर्ण काम अझै अधुरा रहेको उल्लेख गर्दै यसपटक निर्वाचित भए दोलखाको समृद्धिका लागि थप ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
भोला खतिवडाको सभापतित्वमा सम्पन्न भेलामा एमाले केन्द्रीय सदस्यहरू आनन्द प्रसाद पोखरेल, रचना खड्का, उर्मिला सुनुवार, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन, बागमती प्रदेश कमिटी सदस्य भरत केसी, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित गर्दै दोलखालाई समृद्धिको नयाँ चरणमा लैजाने साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

राम्रो पोष्ट