२७ माघ २०८२, मङ्गलवार

भर्खरै

पार्वत गुरुङ मैदानमा फर्किए, विपक्षी फेरि असहज

राम्रो पोष्ट ६ माघ २०८२, मङ्गलवार
पार्वत गुरुङ मैदानमा फर्किए, विपक्षी फेरि असहज

चरिकोट। दोलखाको राजनीतिमा केही सातादेखि एउटा नामले निरन्तर चर्चा पायो—पार्वत गुरुङ। नेकपा एमालेभित्रको आन्तरिक रस्साकस्सी, आकांक्षीहरूको भिड र तह–तहका सिफारिसबीच अन्ततः केन्द्रले निर्णय सुनाएको छ। 

आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दोलखाबाट पार्वत गुरुङलाई उम्मेदवार बनाउने निर्णयसँगै एमालेको टिकट विवाद टुंगिएको छ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले गुरुङलाई अन्तिम उम्मेदवार चयन गरेपछि जिल्ला र प्रदेश तहमा देखिएको मतभेद पनि समाप्त भएको छ।

जिल्ला कमिटीले सुरुबाटै गुरुङको एकल नाम सिफारिस गरेको थियो भने प्रदेश कमिटीले गुरुङसहित पाँच जनाको नाम पठाएको थियो। प्रदेश तहमा गुरुङ र बालकृष्ण शिवाकोटी प्रमुख दाबेदारका रूपमा चर्चामा रहे पनि अन्ततः केन्द्रको भरोसा गुरुङमै टिक्यो।

गाउँदेखि केन्द्रीय राजनीतिसम्मः

गौरीशंकर गाउँपालिका–५, सुरीमा जन्मिएका पार्वत गुरुङको राजनीतिक चेतना पारिवारिक पृष्ठभूमिबाटै विकास भएको मानिन्छ। उनका बुबा मकरध्वज गुरुङ गाउँका प्रधानपञ्च थिए।

गाउँकै विद्यालयमा अध्ययन गर्दै विद्यार्थी राजनीतिमा प्रवेश गरेका गुरुङ शान्ति आदर्श माविबाट अखिलको सदस्य बने। आयुर्वेद अध्ययनका लागि राजधानी पुगेपछि पनि उनी विद्यार्थी राजनीतिमा सक्रिय नै रहे।

२०५३ सालमा एमाले दोलखाको जिल्ला कमिटी सदस्य बनेपछि उनको राजनीतिक यात्रा स्थानीय निर्वाचन हुँदै जिल्ला विकास समितिसम्म पुग्यो। माओवादी युद्ध चर्किएको समय राजधानीमा बसेर व्यवसाय गर्दै उनले राजनीतिलाई निरन्तर अघि बढाए।

संकटमा देखिएको संगठनकर्ताः

२०६७ सालमा एमाले दोलखाको जिल्ला अध्यक्ष निर्वाचित भएपछि गुरुङको राजनीतिक उचाइ एकाएक बढ्यो। संगठन विस्तार, कार्यकर्ता व्यवस्थापन र केन्द्रसँगको समन्वयमा उनी सफल नेता मानिए।

पार्टी संकटमा पर्दा जनजाति जिल्ला अध्यक्षहरूलाई एक ठाउँमा ल्याएर नेतृत्वलाई दबाब दिने अभियानमा उनी अग्रपंक्तिमा देखिए। यही भूमिकाले २०७० सालको संविधानसभा निर्वाचनमा पार्टीको भरोसा जित्यो—र उनी निर्वाचित सांसद बने। २०७४ मा पुनः सांसद बनेका गुरुङ संघीय सरकारमा मन्त्रीसमेत भए। त्यसपछि जिल्ला इन्चार्ज हुँदै महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै उनको राजनीतिक यात्रा निरन्तर उकालो लागिरह्यो।

चर्चित जित र आजको अवस्थाः

एमाले–माओवादी चुनावी गठबन्धनपछि दोलखाको एकमात्र संघीय सिट एमालेको भागमा पर्दा गुरुङले वरिष्ठ नेताहरूलाई पछि पार्दै टिकट सुरक्षित गरे।

निर्वाचनमा कांग्रेस उम्मेदवारलाई करिब ३० हजार मतान्तरले पराजित गर्दै उनले देशकै चर्चित जित दर्ता गराए। सामाजिक सञ्जालमा कम देखिने तर रणनीतिमा सधैं सक्रिय गुरुङ बिहानैदेखि संगठन र चुनावी तयारीमा जुट्ने नेता मानिन्छन्।

विपक्षीको आक्रमणलाई शान्त तर प्रभावकारी ढङ्गले सामना गर्ने शैलीका कारण उनी अहिले पनि धेरैका लागि ‘चुनौती’ बनेका छन्।

फागुनको चुनाव र सम्भावनाः

अब फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्वत गुरुङ फेरि खरो रूपमा मैदानमा उत्रिँदै छन्। संगठनभित्रको पकड, विगतका जित र केन्द्रको भरोसाका कारण उनी बलियो उम्मेदवारका रूपमा हेरिएका छन्। 

यही कारण विपक्षीहरू थप असहज देखिन थालेका छन्। दोलखाको राजनीतिक समीकरण फेरि एक पटक पार्वत गुरुङ वरिपरि केन्द्रित भएको छ।

विगतमा जितको इतिहास बोकेका गुरुङका लागि यो चुनाव केवल प्रतिस्पर्धा मात्र होइन, आफ्नो राजनीतिक निरन्तरताको अर्को महत्वपूर्ण मोड बन्नेछ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट