आज अन्नपूर्ण आरोहण दिवस मनाइँदै
राम्रो पोष्ट
२९ जेठ २०८०, सोमवार
काठमाडौं । आज अन्नपूर्ण आरोहण दिवस हो। हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो ।
पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल जोडिएका कारण अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए ।
नेपालमा आउने विदेशी पर्यटकमध्ये झण्डै ७० प्रतिशत पर्यटक अन्नपूर्ण पदयात्राका लागि पुग्ने गरेका छन्। अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ ।
अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
अन्नपूर्ण आरोहण दिवसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का संरक्षित क्षेत्रअन्तर्गतका स्थल घान्द्रुक, ल्वाङ, सिक्लेस, भुज्रुङ, जोमसोम, लोमान्थाङ र मनाङ इलाका कार्यालयमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ।

राम्रो पोष्ट