१२ वर्षीया थाई बालिकालाई यौन सेवा गराएको आरोप : जापानमा मसाज पार्लर सञ्चालकलाई ६ वर्ष कैद माग
राम्रो पोष्ट
२२ साउन २०८३, शुक्रवार
टोकियो । जापानको टोकियोस्थित एक मसाज पार्लरका पूर्व सञ्चालकमाथि १२ वर्षीया थाई बालिकालाई यौन सेवा गर्न लगाएको आरोपमा सरकारी अभियोजकले ६ वर्ष कैद र २० लाख येन जरिवाना माग गरेका छन्।
टोकियो जिल्ला अदालतमा बिहीबार भएको सुनुवाइमा अभियोजन पक्षले ५२ वर्षीय मासायुकी होसोनो ले बालिकाको उमेर पुष्टि नगरी उनलाई पुरुष ग्राहक तथा आफूसमेत यौन सेवा गर्न बाध्य पारेको आरोप लगाएको हो। उनीमाथि बाल कल्याणसम्बन्धी कानुन उल्लंघनलगायतका अभियोग लगाइएको छ।
अभियोजन पक्षका अनुसार बालिकाकी आमाले उनलाई आफ्नी २० वर्षीया बहिनी भनेर चिनाए पनि होसोनोले राहदानी जाँच गरेर वास्तविक उमेर सजिलै पुष्टि गर्न सक्थे। तर त्यसो नगरी बालिकालाई काममा लगाइएको भन्दै अभियोजकले यस्तो कार्यले बाल यौन शोषणलाई बढावा दिएको तर्क गरेका छन्।
अभियोगपत्रअनुसार होसोनोले गत वर्षको जुनदेखि अगस्टसम्म ती १२ वर्षीया बालिकालाई पुरुष ग्राहकसँग यौन सेवा गराउन तथा आफैंले पनि यौन दुर्व्यवहार गरेको आरोप छ।
यद्यपि प्रतिरक्षा पक्षले भने होसोनो निर्दोष रहेको दाबी गर्दै कर्मचारी भर्ना र उमेर प्रमाणीकरणको जिम्मेवारी पसलकी तत्कालीन ३९ वर्षीया थाई प्रबन्धकलाई दिइएको जनाएको छ। ती महिलाविरुद्ध पनि सोही अभियोगमा मुद्दा दायर भइसकेको छ।
यस घटनामा टोकियो जिल्ला सरकारी वकिल कार्यालयले बालिकालाई आमाबाट पैसा तिरेर किनिएको हुन सक्ने आशंकामा मानव बेचबिखन सम्बन्धी अभियोगसमेत लगाउने सम्भावना अध्ययन गरेको थियो। तर बालिकाकी आमालाई रकम भुक्तानी गरिएको पर्याप्त प्रमाण जुटाउन नसकेपछि उक्त अभियोग अघि नबढाइएको जनाइएको छ।
उता थाइल्याण्डमा भने बालिकाकी आमाविरुद्ध मानव बेचबिखनलगायतका आरोपमा मुद्दा चलाइएको थियो। बैंककको अदालतले यसै वर्षको जुनमा उनलाई ७ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो। यस मुद्दाको फैसला सेप्टेम्बर १५ मा टोकियो जिल्ला अदालतले सुनाउने तय भएको छ।

राम्रो पोष्ट