जापानमा नेपाली पत्रकारितामा योगदान पुर्याएको भन्दै शान्तकुमार पहरीलाई कदरपत्र
राम्रो पोष्ट
२४ साउन २०८३, आइतवार
टोकियो । जापानमा नेपाली पत्रकारिताको विकास तथा पत्रकारहरूको हकहितका लागि योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ जापान शाखाका निवर्तमान अध्यक्ष शान्तकुमार पहरीलाई कदरपत्र प्रदान गरिएको छ।
नेपाली जनप्रगतिशील मञ्च, जापानको केन्द्रीय समितिले आयोजना गरेको ‘प्रगतिशील समर पिकनिक–२०२६’ कार्यक्रममा पहरीलाई कदरपत्र प्रदान गरिएको हो।
कदरपत्रमा पहरीले नेपाल पत्रकार महासंघ जापान शाखाको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै जापानमा क्रियाशील नेपाली पत्रकारहरूको हकहित, पेशागत मर्यादा, क्षमता अभिवृद्धि तथा संस्थागत एकता र सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गरिएको छ।
त्यस्तै, जापानमा नेपाली पत्रकारिताको गरिमा र विश्वसनीयता अभिवृद्धि गर्न तथा जापानस्थित नेपाली सञ्चारकर्मीबीच सहकार्य र समन्वय कायम गर्न पहरीको भूमिका प्रशंसनीय रहेको जनाइएको छ।
कदरपत्रमा नेपाल र जापानबीच सूचना, सञ्चार तथा आपसी सम्बन्धलाई थप मजबुत बनाउने कार्यमा समेत पहरीले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको छ।
नेपाली जनप्रगतिशील मञ्च जापानले पत्रकारिता क्षेत्रको उन्नयनमा पुर्याएको योगदानको सम्मानस्वरूप पहरीलाई उक्त कदरपत्र प्रदान गरेको हो।

राम्रो पोष्ट