कुवेतमा इरानी आक्रमण : चिनियाँ कम्पनीमा कार्यरत नेपाली चालकको मृत्यु
राम्रो पोष्ट
१५ साउन २०८३, शुक्रवार
कुवेत। कुवेतमा इरानले गरेको आक्रमणमा चिनियाँ कम्पनीमा कार्यरत एक नेपाली चालकको मृत्यु भएको पुष्टि भएको छ। कुवेतस्थित चिनियाँ दूतावासले उक्त घटनामा नेपाली नागरिकको ज्यान गएको जानकारी दिँदै कुनै पनि चिनियाँ नागरिक भने हताहत नभएको जनाएको हो।
चाइना डेलीका अनुसार जुलाई ३० मा इरानले कुवेतको उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको भवनलाई लक्षित गरी आक्रमण गरेको थियो। कुवेतको रक्षा मन्त्रालयका अनुसार उक्त आक्रमणमा एक कामदारको मृत्यु भएको छ भने कम्पनीको भवन र अन्य सम्पत्तिमा ठूलो क्षति पुगेको छ।
कुवेत समाचार एजेन्सी (कुना) मार्फत जारी विज्ञप्तिमा रक्षा मन्त्रालयका प्रवक्ता साउद अल–अत्वानले सम्बन्धित निकायहरूले घटनालगत्तै उद्धार तथा आवश्यक कारबाही अघि बढाएको जानकारी दिएका छन्।
अमेरिका र इरानबीच पुनः प्रतिआक्रमणको श्रृङ्खला सुरु भएका बेला यो घटना भएको हो। अमेरिकी सेनाले इरानका विभिन्न सैन्य लक्ष्यमा आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमणलाई निरन्तरता दिएको छ।
पछिल्ला घटनाक्रमले मध्यपूर्वमा द्वन्द्व थप चर्किने र क्षेत्रीय युद्धको जोखिम बढेको अन्तर्राष्ट्रिय समुदायले जनाएको छ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकालाई सहयोग गर्ने मुलुकहरूलाई कडा चेतावनी दिँदै आफ्नो व्यवहार नसच्याए गम्भीर परिणाम भोग्नुपर्ने जनाएको छ। साथै, अमेरिकी हस्तक्षेप र धम्कीपूर्ण
गतिविधि जारी रहेसम्म हर्मुज जलडमरूमध्य सामान्य रूपमा सञ्चालन हुन नसक्ने दाबी पनि गरेको छ।
उता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई तत्काल युद्ध रोक्न र कूटनीतिक वार्तामा फर्किन आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघका उपप्रवक्ता फरहान हकका अनुसार पाकिस्तान, कतारलगायत मुलुकहरूले अघि बढाइरहेको मध्यस्थता प्रयासलाई सफल बनाउन पनि महासचिवले सम्बन्धित पक्षहरूलाई अपिल गरेका छन्।

राम्रो पोष्ट