August 1, 2026

भर्खरै

घर फर्किने सपना अधुरै रह्यो, कुवेतमा इरानी ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु

राम्रो पोष्ट १५ साउन २०८३, शुक्रवार
घर फर्किने सपना अधुरै रह्यो, कुवेतमा इरानी ड्रोन आक्रमणमा तेह्रथुमका सोमकुमार तामाङको मृत्यु

कुवेत। परिवारको भविष्य उज्ज्वल बनाउने सपना बोकेर रोजगारीका लागि कुवेत पुगेका तेह्रथुमका सोमकुमार तामाङ अन्ततः घर फर्किन पाएनन्। घर फर्किए पनि जीवित होइन, पार्थिव शरीरका रूपमा फर्किने पीडादायी अवस्था सिर्जना भएको छ।
कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको इरानी ड्रोन आक्रमणमा परी तेह्रथुमको आठराई गाउँपालिका–६, चुहानडाँडा, हात्तिखर्क निवासी ४५ वर्षीय सोमकुमार तामाङको दुःखद निधन भएको कुवेतस्थित नेपाली राजदूतावासले पुष्टि गरेको छ। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए।
राजदूतावासका अनुसार, घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले आधिकारिक जानकारी गराएको हो। प्राप्त विवरणअनुसार उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा तामाङको ज्यान गएको हो।
रोजगारीका लागि जन्मथलो छाडेर परिवारको सुखद भविष्य निर्माण गर्ने उद्देश्यले परदेशिएका तामाङको असामयिक निधनले परिवार मात्रै होइन, गाउँ नै शोकमा डुबेको छ। उनका आफन्त र शुभेच्छुकहरू स्तब्ध बनेका छन्।
नेपाली राजदूतावासले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै पार्थिव शरीर यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको जनाएको छ।
दूतावासका अनुसार, पार्थिव शरीर नेपाल पठाउने सम्बन्धमा कुवेत सरकार तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। आवश्यक प्रक्रिया पूरा भएपछि पार्थिव शरीर स्वदेश पठाइनेछ।
मध्यपूर्वमा बढ्दो सुरक्षा चुनौतीका बीच भएको यस घटनाले कुवेतलगायत खाडी मुलुकमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाप्रति पुनः गम्भीर प्रश्न उठाएको छ। परदेशमा पसिना बगाएर परिवारको भविष्य बनाउने सपना बोकेका एक नेपालीको जीवन युद्धको छायाँमा अन्त्य हुनु सम्पूर्ण नेपालीका लागि पीडादायी घटना बनेको छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट