एसियन गेम्सका नेपाली खेलाडीलाई सम्मान गर्दै NEFIN Japan
राम्रो पोष्ट
८ असोज २०८३, बिहिवार
कावासाकी — जापानको नागोयामा आयोजना भइरहेको एसियन गेम्समा नेपालबाट विभिन्न विधामा सहभागी हुन आएका खेलाडी तथा खेलकर्मीहरूलाई सम्मान गर्ने कार्यक्रम आयोजना हुने भएको छ।
NEFIN Japan को आयोजनामा हुने कार्यक्रममा विशेषगरी सहभागी नेपाली तथा तामाङ खेलाडीहरूको हौसला र मनोबल बढाउने उद्देश्यले सम्मान तथा भेटघाट कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
कार्यक्रममा पूर्व राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव तथा एसिया रग्बीका उपाध्यक्ष टङ्कालाल घिसिङसँग समेत भेटघाट तथा सम्मान गरिने जनाइएको छ।
कार्यक्रममा नेपाल कराते महासंघका अध्यक्ष तथा पूर्व सदस्य–सचिव युवराज लामा थिङ, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा नेपाल कराते महासंघका महासचिव धावा गुरुङ, वरिष्ठ कुमेते कोच तथा पूर्व राष्ट्रिय खेलाडी कुशल श्रेष्ठ र वरिष्ठ काता कोच तथा पूर्व राष्ट्रिय खेलाडी मण्डय काजी श्रेष्ठलगायतको सहभागिता रहनेछ।
नेपालको कराते टोलीमा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीहरू समेत सहभागी छन्। टोलीमा अरिक गुरुङ, सानु माया थिङ, राकेश मानन्धर, मिनबहादुर तामाङ, तेन्जिङ शेर्पा, एलिसा रास्कोटी मगर, मेघा लिम्बू र निरुपा डोङ तामाङ रहेका छन्।
अरिक गुरुङले विश्व कराते प्रिमियम लिगमा रजत, एसियन गेम्समा रजत तथा विश्व शितोरियो कराते च्याम्पियनसिप र एसिया प्यासिफिक शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्। टोलीका अन्य खेलाडीहरूले समेत दक्षिण एसियाली कराते च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
आयोजकले जापानमा रहेका नेपाली समुदाय तथा खेलप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।
मितिः २५ सेप्टेम्बर २०२६, शुक्रबार
समयः साँझ ६ः३० बजे
स्थानः कावासाकी मामाघर रेस्टुरेन्ट

राम्रो पोष्ट