September 22, 2026

भर्खरै

जापानका जेलमा कैदीको पुनर्स्थापनाका लागि ‘माइन्डफुलनेस’ अभ्यास

राम्रो पोष्ट ६ असोज २०८३, मङ्गलवार
जापानका जेलमा कैदीको पुनर्स्थापनाका लागि ‘माइन्डफुलनेस’ अभ्यास

क्योटो । जापानका कारागारहरूले कैदीहरूलाई आफ्ना विचार, भावना र तनाव नियन्त्रण गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘माइन्डफुलनेस’ अर्थात् ध्यान तथा मानसिक एकाग्रताको अभ्यास प्रयोग गर्न थालेका छन्।
मध्य जापानको ओकाजाकी मेडिकल जेलमा हालै गरिएको एक परीक्षण कार्यक्रममा तीन जना कैदीले ध्यान तथा योगसम्बन्धी अभ्यास गरेका थिए। प्रशिक्षकले उनीहरूलाई नाकबाट विस्तारै सास तान्न र बिस्तारै बाहिर फाल्न निर्देशन दिएका थिए।
करिब दुई महिनासम्म सञ्चालन गरिएको उक्त कार्यक्रम शारीरिक वा मानसिक अपाङ्गता भएका कैदीहरू राखिने आइची प्रिफेक्चरस्थित मेडिकल जेलमा गरिएको जापानकै पहिलो यस्तो परीक्षण थियो।
बौद्ध परम्परासँग सम्बन्धित माइन्डफुलनेसलाई अहिले धार्मिक पक्षबाट अलग गरेर मानसिक स्वास्थ्य तथा तनाव व्यवस्थापनका लागि विभिन्न देशमा प्रयोग गरिँदै आएको छ। जापानमा पनि यसको प्रयोग कम्पनीका कर्मचारीको तालिमदेखि स्वास्थ्य सेवासम्म विस्तार भएको छ।
ओकाजाकी कार्यक्रमको नेतृत्व गरेका क्योटोस्थित बुक्क्यो विश्वविद्यालयका एसोसिएट प्रोफेसर ताकुरो तानिमोतोका अनुसार माइन्डफुलनेसले मानिसलाई आफ्ना विचार र भावनालाई तत्काल प्रतिक्रिया नदिई केही दूरीबाट हेर्न सिकाउँछ। योग तथा ध्यानजस्ता अभ्यासले एकाग्रता बढाउन र तनाव घटाउन सहयोग गर्न सक्ने उनको भनाइ छ।
एक ४० वर्ष आसपासका पुरुष कैदीले अभ्यासपछि आफूलाई पहिले असहज वा तनाव महसुस हुँदा जेलका अधिकारीसँग कुरा गर्ने गरेको, तर श्वासप्रश्वाससम्बन्धी प्रविधि सिकेपछि कठिन परिस्थितिमा आफैंलाई शान्त पार्न सक्ने भएको बताएका छन्।
तानिमोतोका अनुसार धेरै कैदीहरू विगतका आघात, समाजप्रतिको अविश्वास, असहायपनको भावना तथा आवेगपूर्ण व्यवहारजस्ता समस्यासँग संघर्ष गरिरहेका हुन्छन्। माइन्डफुलनेसको अभ्यासले उनीहरूलाई आफ्ना भावनालाई वस्तुनिष्ठ रूपमा हेर्न र त्यसको प्रभाव कम गर्न सहयोग गर्न सक्ने उनको भनाइ छ।
जापानको सुधारगृह प्रणालीमा माइन्डफुलनेसको प्रयोग सन् २०११ मा फुकुओकास्थित एक महिला बाल सुधारगृहबाट सुरु भएको थियो। त्यसपछि यो अभ्यास जापानका विभिन्न बाल सुधारगृह तथा वयस्क कारागारमा पनि विस्तार भएको छ। गुनमा प्रिफेक्चरको माएबाशी जेल र गिफु जेलमा समेत यसको प्रयोग गरिएको छ।
यसैबीच, जापानको दण्ड प्रणालीमा सन् २०२५ मा महत्वपूर्ण परिवर्तन गरिएको छ। यसअघि श्रमसहित र श्रमरहित छुट्टाछुट्टै जेल सजायको व्यवस्था रहेकामा त्यसलाई हटाएर एउटै प्रकारको कारावास सजाय लागू गरिएको छ। नयाँ व्यवस्थाले कैदीको सुधार तथा पुनर्स्थापनालाई अझ बढी महत्व दिएको छ।
तानिमोतोले कारागारमा माइन्डफुलनेसको प्रयोग अझ व्यापक बनाउन सकिने सम्भावना रहेको बताएका छन्। तर यसको विस्तारमा विशेषज्ञ जनशक्तिको कमी र पर्याप्त अनुसन्धान तथा तथ्यांकको अभाव चुनौतीका रूपमा रहेको उनको भनाइ छ।
उनका अनुसार माइन्डफुलनेसलाई कारागार प्रणालीमा प्रभावकारी रूपमा विस्तार गर्न सबैभन्दा पहिले जेलका कर्मचारीहरूलाई यसको प्रशिक्षण दिन आवश्यक छ।

लेखकको बारेमा

राम्रो पोष्ट

समाचार अझै सहज, अझै अनुकुल

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट