विद्यार्थीले बचाएको टिफिन खर्चबाट बाढीपीडितलाई १ लाख ५१ हजार येन सहयोग
राम्रो पोष्ट
२६ भदौ २०८३, शुक्रवार
टोकियो, जापान — ११ सेप्टेम्बर २०२६
जापानको टोकियोस्थित Asian Bridge International School का विद्यार्थी, शिक्षक तथा सञ्चालकले नेपालमा हालै आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित समुदायको सहयोगका लागि १ लाख ५१ हजार १ सय १५ जापानी येन सहयोग गरेका छन्।
विद्यालयका विद्यार्थीहरूले आफ्नो दैनिक टिफिन खर्चबाट बचाएको रकम तथा साना–साना व्यक्तिगत बचत संकलन गरी उक्त सहयोग जुटाएका हुन्। विद्यार्थीहरूको पहलमा सुरु भएको अभियानमा विद्यालयका कर्मचारी, सञ्चालक तथा शुभेच्छुकहरूले समेत सहयोग गरेका थिए।
विद्यालयका अनुसार संकलित र्१५१,११५ रकम शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। रकम जम्मा गर्ने प्रक्रियामा कक्षा ५ का विद्यार्थीहरूलाई प्रत्यक्ष सहभागी गराइएको विद्यालयले जनाएको छ।
टोकियोको किता–कुमा सञ्चालित Asian Bridge International School मा हाल १०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। विद्यालयले कक्षा ५ सम्म नेपाली पाठ्यक्रममा आधारित पठनपाठन सञ्चालन गर्दै आएको जनाएको छ।
विद्यालयका अनुसार विपद्का समयमा पीडितप्रति सहानुभूति राख्ने, आफ्नो क्षमताअनुसार सहयोग गर्ने र सामाजिक उत्तरदायित्व बहन गर्ने संस्कार विद्यार्थीहरूमा विकास गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
विद्यालयले विद्यार्थीलाई पुस्तकमा सीमित शिक्षाभन्दा बाहिर निकालेर वास्तविक जीवनसँग जोड्ने उद्देश्यले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई व्यवहारमै सिकाउने प्रयास गरिएको जनाएको छ।
“साँचो शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित हुँदैन। आवश्यक परेको समयमा अरूको पीडामा साथ दिन सिक्नु पनि शिक्षाकै महत्वपूर्ण हिस्सा हो,’’ विद्यालयले जनाएको छ।
विद्यालयले यो अभियानले ‘सहयोग सानो वा ठूलो होइन, भावना ठूलो हुन्छ’ भन्ने सन्देश दिएको बताएको छ। जापानमा हुर्किरहेका नेपाली विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबाट रकम बचाएर मातृभूमिमा विपद्मा परेका समुदायका लागि सहयोग गर्नु विदेशमा रहेका नयाँ पुस्ताको सामाजिक उत्तरदायित्वको उदाहरण भएको विद्यालयको भनाइ छ।
“नेपालको पीडामा हामी पनि साथमा छौँ” भन्ने भावनासहित गरिएको उक्त सहयोगले विद्यार्थीहरूमा मानवीय संवेदना, सामाजिक जिम्मेवारी र मातृभूमिप्रतिको भावनालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

राम्रो पोष्ट