७० करोड येन चिठ्ठा परेको भन्दै ठगीमा पर्न लागेका ओकिनावाका व्यक्ति कन्भिनियन्स स्टोर कर्मचारीले बचाए
राम्रो पोष्ट
२६ भदौ २०८३, शुक्रवार
ओकिनावा, जापान — आफूले ७० करोड येन (७०० मिलियन येन) पुरस्कार जितेको विश्वासमा ठगीको जालमा पर्न लागेका ओकिनावाका एक व्यक्तिलाई कन्भिनियन्स स्टोरका कर्मचारीले समयमै सचेत गराएर ठूलो आर्थिक क्षतिबाट जोगाएका छन्।
जुलाई २२ मा ओकिनावाको तोमिगुसुकु शहरस्थित एक ीबधकयल स्टोरमा ती व्यक्ति पुगेका थिए। उनले आफूले ठूलो रकम पुरस्कार जितेको र पुरस्कार प्राप्त गर्नुअघि ३ हजार येनको प्रिपेड इलेक्ट्रोनिक मनी कार्ड किन्नुपर्ने बताएका थिए।
उनको मोबाइलमा आएको सन्देश हेरेपछि स्टोरका कर्मचारीहरूले यो ठगी हुनसक्ने शंका गरे। कर्मचारीहरूले पटक–पटक सम्झाए पनि ती व्यक्ति आफूले वास्तवमै ७० करोड येन जितेको भन्दै विश्वस्त थिए।
स्थिति गम्भीर देखिएपछि कर्मचारीहरूले उनलाई स्टोरमै रोकेर प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएर मोबाइलमा आएको सन्देश ठगी गर्नेहरूले पठाएको स्पष्ट पारेपछि मात्र ती व्यक्तिले आफू ठगीमा पर्न लागेको स्वीकार गरेका थिए।
कर्मचारीहरूको सतर्कता र समयमै प्रहरीलाई खबर गर्ने कार्यका कारण ती व्यक्ति ठूलो रकम गुमाउनबाट जोगिएका हुन्। घटनापछि प्रहरीले दुवै कर्मचारीलाई उनीहरूको सतर्कता र योगदानका लागि प्रशंसापत्रसमेत प्रदान गरेको छ।
जापानमा ‘तपाईंले ठूलो पुरस्कार जित्नुभएको छ, पुरस्कार लिनुअघि शुल्क तिर्नुपर्छ’ भन्दै सम्पर्क गर्ने ठगीका घटना हुने भएकाले यस्तो सन्देश वा फोन आएमा पैसा नपठाउन र तुरुन्त प्रहरीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

राम्रो पोष्ट