टोकियोमा ८० लाख येन लुटपाट : चिनियाँ विश्वविद्यालय विद्यार्थी पक्राउ
राम्रो पोष्ट
२१ भदौ २०८३, आइतवार
टोकियो । जापानको टोकियोस्थित इकेबुकुरो क्षेत्रमा करिब ८० लाख येन नगद लुटिएको घटनामा २२ वर्षीय चिनियाँ विश्वविद्यालय विद्यार्थी पक्राउ परेका छन्।
घटना गत जुन १० गते राति करिब ८ः३० बजे भएको हो। ६० वर्ष आसपासकी एक चिनियाँ महिलासँग रहेको झोलाबाट दुई जनाले करिब ८० लाख येन नगद लुटेका थिए। प्रहरीले दिएको जानकारीअनुसार लुटेराहरूले महिलाको अनुहारमा स्प्रे छर्कनुका साथै टाउकोमा हातले प्रहार गरेर झोला खोसेका थिए।
पक्राउ पर्ने युवक टोकियोको तामा क्षेत्रमा बस्दै आएका चिनियाँ नागरिक हुन्। प्रहरीले उनलाई लुटपाट तथा चोट पुर्याएको आरोपमा पक्राउ गरेको हो।
घटनामा संलग्न अर्का व्यक्तिको खोजी भइरहेको भए पनि उनी जापान छाडेर अन्यत्र गएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रहरीका अनुसार महिलासँग ठूलो रकम रहेको जानकारी पहिले नै थाहा पाएका तेस्रो व्यक्तिको निर्देशनमा दुई जनाले लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ।
लुटिएको ८० लाख येन हालसम्म फेला परेको छैन।

राम्रो पोष्ट